आर्थिक कूटनीतिलाई अघि बढाएका छौँः परराष्ट्रमन्त्री

काठमाडौँ – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मन्त्रालयले आर्थिक कूटनीतिको प्रवर्धन गर्न अलग्गै महाशाखा मार्फत काम सुरु गरेको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको ५९ औँ बार्षिक साधारणसभाका अवसरमा आज महासंघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा लगानीका अधिक सम्भावनाहरु रहेकाले वैदेशिक लगानी भित्र्यान सरकारले आर्थिक कूटनीतिलाई बलियो बनाएर अघि बढ्ने स्पष्ट गर्नुभयो ।

विदेशी लगानीकर्ताहरु नेपालमा लगानी गर्न इच्छुक रहेकाले बढी भन्दा बढी वैदेशिक लगानी भित्र्याउन सरकार र निजी क्षेत्र मिलेर लगानीको उचित वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्री डा रााणाले भन्नुभयो “हालसालै बैंककमा आयोजित बिमस्टेक सम्मेलन होस् या यसअघि प्रधानमन्त्रीज्यूको चीन भ्रमणका क्रममा होस् । नेपालको निजी क्षेत्रले त्यहाँका उद्योगी व्यवसायीहरुसँग अन्तरक्रिया गरेको थियो । त्यस क्रममा म पनि सहभागी थिएँ । उहाँहरु नेपालमा लगानीका लागि इच्छुक रहेको मैले पाएँ । उहाँहरुलाई नेपालमा आकर्षित गर्न हामी सबै लाग्नुपर्दछ ।”

नेपालमा उर्जा, पर्यटन, पर्यटकीय पूर्वाधार निर्माण, सूचना प्रविधि आदि क्षेत्रमा लगानीका प्रसस्त सम्भावना रहेकाले आर्थिक कूटनीतिका माध्यमबाट वैदेशिक लगानी आकर्षित गर्ने काममा आफू कार्यरत रहेको र त्यसमा निजी क्षेत्रको पनि सक्रिय साथ र सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

मन्त्री डा राणाले नेपालमा वैदेशिक सहायता आउने क्रम घट्दो अवस्थामा रहेको देखिएकाले मुलुकको अर्थतन्त्रलाई सबल र सक्षम बनाउन तथा समृद्ध नेपालको सपना साकार पार्न लगानीकर्ताहरुलाई उत्साहित गर्नुका साथै उद्यम व्यवसायको प्रवर्धनमा लाग्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

उहाँले निजी क्षेत्र बलियो भए मात्र मुलुक र सरकार बलियो हुने बताउँदै वर्तमान सरकार देशको समृद्धिका लागि निजी क्षेत्रसँगको सहकार्यको पक्षमा रहेको स्पष्ट गर्नुभयो ।
मन्त्री डा राणाले भन्नुभयो “सबै नेपाली आर्थिक विकास र प्रगतिका आकांक्षी हौँ । ती आकांक्षाहरु निजी क्षेत्रको सक्रियता र सहभागिताबाट मात्र हासिल गर्न सकिन्छ । त्यसैले सरकार निजी क्षेत्रसँगको सहकार्यको पक्षमा छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.