म्यानमार सरकारलाई नेपालले दियो २७ टन राहत सामग्री

काठमाडौँ- नेपालले म्यानमार सरकारलाई २७ टन बराबरको राहत सामग्री उपलब्ध गराएको छ । भूकम्पबाट प्रभावित म्यानमारका नागरिकलाई सहयोगस्वरुप उक्त राहत सामग्री उपलब्ध गराइएको हो ।

यान्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान नेपाली टोलीले म्यानमारका सरकारी अधिकारीलाई उक्त राहत सामग्री हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयका सहसचिव एवं दक्षिणपूर्वी एसिया महाशाखा प्रमुख तापस अधिकारीले जानकारी दिनुभयो । राहत सामग्रीमा खाद्यान्न, दैनिक उपभोग्य वस्तु, औषधि, स्वास्थ्य उपकरणलगायत छन् ।

सहसचिव अधिकारीका अनुसार म्यानमारका लागि नेपाली राजदूत हरिशचन्द्र घिमिरे र म्यानमारका सरकारी प्रतिनिधिलगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो । सामग्री हस्तान्तरणपछि दुई देशका सरकारी प्रतिनिधिबीच छलफलसमेत भएको थियो ।

त्यसअवसरमा सहसचिव अधिकारीले भूकम्पमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै म्यानमार सरकार र जनताप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको थियो ।

त्यस अवसरमा म्यानमारका सरकारी प्रतिनिधि हेयू वाई लुविनले उक्त सहयोगका लागि नेपाल सरकारलाई धन्यवाद दिनुभयो । उहाँले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिबारे संक्षिप्त जानकारी दिनुभएको थियो । उहाँका अनुसार भूकम्पमा परी हालसम्म तीन हजार ५९० भन्दा बढीको मृत्यु भइसकेको छभने चार हजार ८०० भन्दा बढी घाइते र १४८ बेपत्ता छन् ।

म्यानमार लागि नेपाली राजदूत घिमिरेले वैदेशिक रोजगारीको सिलसिलामा करिब एक लाख ५० हजार नेपाली म्यानमारमा रहेको उल्लेख गर्दै भूकम्पमा परी १८ जना नेपालीको मृत्यु भएको जानकारी दिनुभयो ।

म्यानमारको सघाइ प्रान्तलाई केन्द्रविन्दु बनाएर यही अप्रिल २८ मा सात दशमलव सात रेक्टर स्केलको भूकम्प धक्का महसुस भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.