संस्कृति बचाउन भुलाँखेलमा खुल्ला धिमे बाजा प्रतियोगिता, श्री राज गणेश धिमे खल: प्रथम

भक्तपुर –  नेवारी संस्कृतिलाई जीवन्त राख्न र नयाँ पुस्तामा बाजा संस्कृति हस्तान्तरण गर्न मध्यपुर थिमिको भुलाँखेलमा सम्पन्न खुल्ला धिमे बाजा प्रतियोगितामा श्री राज गणेश धिमे खल: प्रथम भएको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजना र नित्य नाथ धिमे खलः को संयोजनमा सम्पन्न भएको प्रतियोगितामा मध्यपुर थिमि–४ को श्री राज गणेश प्रथम भएको हो ।

श्री राज गणेशले शिल्ड, प्रमाणपत्रका साथै नगद ५० हजार पुरस्कार हात पार्न सफल भएको हो ।

प्रतियोगितामा सूर्य विनायक नगरपालिका वडा नं.–२ सिरु टारको श्री नास: धिमे खल दोस्रो हुन सफल भयो । श्री नास: धिमे खलः ले नगद २५ हजारका साथै शिल्ड, प्रमाण पत्र हात पारेको छ ।

यसै गरी मध्यपुर थिमिकै सिवा सायमी खल: तेस्रो र काभ्रेपलान्चोक पनौतीस्थित नेवा: देय दबूले सान्त्वना पुरस्कार प्राप्त गरे ।

सिवा सायमी खलः ले नगद १५ हजार, शिल्ड, प्रमाण प्राप्त गरे भने नेवा: देय दबूले नगद १० हजार प्राप्त गरे । प्रतियोगितामा विजयी खलः लाई पुरस्कृत गर्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले स्थानीय कला संस्कृति, बाजागाजाको संरक्षणमा विशेष जोड दिइरहेको बताउनुभयो ।

बाजाहरूमा युवा पुस्ताको आकर्षण बढाउन बर्सेनि प्रतियोगिताहरू गर्दै जाने र यस्ता प्रतियोगितामा नगरका सबै वडाहरूमा आलोपालो गर्ने योजना रहेको जिकिर गर्नुभयो । आगामी वैशाख १३ गते वडा नं. १ लोहकिल्थलीमा बाँसुरी बाजा प्रतियोगिता हुन लागेको जानकारी गराउनुभयो ।

नगरपालिकाले पछिल्ला वर्ष संस्कृति संरक्षण, वातावरण सरसफाइ र पर्यटनको क्षेत्रमा उल्लेख्य कार्य गरेको छ । नगरपालिकाले नगरभित्रका सार्वजनिक जग्गा संरक्षण गरी बहु उपयोगी बनाउने योजना अनरुप कार्य अगाडि बढाएको जानकारी दिनुभयो ।

नगरवासीलाई निःशुल्क शिक्षा, स्वास्थ्य उपलब्ध गराउने प्रमुख प्राथमिकता रहेको बताउँदै पूर्वाधार विकासमा पनि नगरपालिकाले विशेष योजनाका साथ कार्य गरिरहेको प्रमुख श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.