तीनकुने घटनाको अनुसन्धान जारी छः गृहमन्त्री लेखक

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा भएको घटनाको अनुसन्धान गर्ने काम जारी रहेको बताउनुभएको छ ।
गत चैत्र १५ गते तीनकुने क्षेत्रमा तोडफोड र आगजानीलगायत घटनामा संलग्नहरुरूलाई पक्राउ गर्ने क्रम जारी रहेको गृहमन्त्री लेखकको भनाइ थियो ।
प्रतिनिधिसभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठक आज उहाँले सो प्रदर्शनका मुख्य आरोपी दुर्गा प्रसाइँलाई पक्राउ गरिएको जानकारी दिँदै घटनाका अन्य आरोपी पनि पक्राउ पर्ने क्रम जारी रहेको उल्लेख गर्नुभयो ।
सोही प्रदर्शनमा घाइते भएकाहरूको उपचार सरकारले गर्ने भनेर मन्त्रिपरिषद्बाट निर्णय भइसकेको बताउँदै गृहमन्त्री लेखकले उपचार गराइराखेको अस्पतालभन्दा बाहिरबाट औषधि किन्नुपरेमा पनि त्यसको खर्च सरकारले बेहोर्ने जानकारी दिनुभयो ।
गृहमन्त्री लेखकले तीन कुनेमा हिंसात्मक प्रदर्शन संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासको रूपमा व्याख्यासमेत गर्नुभयो ।
लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरङ्कुशताको खोजी उचित नहुने भन्दै गृह मन्त्री लेखकले हिन्दू धर्म जस्तो उत्कृष्ट धर्मलाई निकृष्ठ राजनीतिका लागि प्रयोग गर्न नहुने बताउनुभयो ।
गृहमन्त्री लेखकले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिने भए पनि लोकतन्त्रको विकल्प खोज्ने र पछाडि फर्किने छुट नभएकामा जोड दिनुभयो ।
त्यसैले तीनकुने घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको उहाँको भनाइ थियो ।।






प्रतिक्रिया राख्नुहोस्