‘सञ्चालकहरूको सेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’

काठमाडौँ – नेपाल निर्जीवन बिमा व्यवसायी सङ्घले बिमा प्राधिकरणका अध्यक्ष शरद ओझासँग आज भेटवार्ता गरेको छ । सङ्घका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको पदाधिकारी टोलीले प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझालाई भेटेर बधाई एवं शुभकामना व्यक्त गरेको हो । अध्यक्ष ओझासँगको भेटका क्रममा सङ्घले निर्जीवन बिमा व्यवसायमा देखिएको नीतिगत कठिनाइबारे ध्यानाकर्षण समेत गराएको छ ।
सञ्चालकहरूको स्वामित्वमा भएको सेयर कम्पनीमा राजीनामा पछि पनि १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति सङ्घले प्राधिकरणको ध्यानाकर्षण गराएको हो । धितो पत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क ) अनुसार सङ्गठित सञ्चालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक रहेको सङ्घको भनाई छ ।
निर्जीवन बिमा व्यवसायीसंघद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सेयर विक्रीसम्बन्धी व्यवस्था अत्यन्तै अव्यवहारिक रहेको जानकारी गराउँदछौँ । कम्पनीमा कायम रहेका सबै सेयर धनी जस्तै सञ्चालकहरू पनि लगानीकर्ता नै रहेको र सेयर धनीहरूको साधारण सभाबाट निर्वाचित भई उनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेकै आधारमा शेयर विक्री गर्न नपाउने व्यवस्था न्यायोचित नभएको जानकारी गराउँदछौ, ।’ सङ्घका अध्यक्ष सहितको पदाधिकारी टोलीले बिमा प्राधिकरणका अध्यक्ष ओझालाई सो प्रावधान सच्याउनका लागि आग्रह समेत गरेको छ ।
लगानीको दृष्टिकोणबाट कम्पनीका अन्य सेयर धनीको वित्तीय स्वार्थ र सञ्चालकहरूको वित्तीय स्वार्थमा कुनै फरक नरहेको सङ्घका अध्यक्ष मल्लले बताउनुभयो । सञ्चालकहरूले अन्य सेयर धनी सरह नै कम्पनीमा लगानी गरेपछि त्यसको उपयोग गर्नबाट सञ्चालकहरूलाई वञ्चित गर्ने कार्य न्यायोचित नभएको सङ्घले उल्लेख गरेको छ । कुनै व्यवसायीले आफ्नो चल सम्पत्ति बिक्री गर्न नपाउने परिस्थितिमा उद्यम, व्यवसायको विविधीकरण लगायत अत्यावश्यक घरायसी कार्यमा समेत अवरोध सिर्जना हुने अध्यक्ष मल्लले बताउनुभयो ।
सङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुन्जेल र सो पदबाट हटेको एक वर्ष सम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी सञ्चालक पदमा बहाल रहेकै बखत सेयर स्वामित्वको ५० प्रतिशत सम्म बिक्री गर्न पाउने व्यवस्थाका लागि आग्रह गर्दछौँ, ।’
सेयर विक्री सम्बन्धी पछिल्लो व्यवस्थाले लगानीको वातावरणमा समस्या सिर्जना गर्नुका साथै वैदेशिक लगानी समेत प्रभावित हुने अध्यक्ष मल्लको भनाई छ ।
नेपाली पुनर्बीमा कम्पनीहरूलाई दिई आएको प्रत्यक्ष हिस्साबारे पनि सङ्घले प्राधिकरणको ध्यानाकर्षण गराएको छ । प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘बिमा ऐन २०७९ को दफा दुईमा पुनर्बीमा भन्नाले कुनै एक बीमकले आफूले धारणा गर्ने जोखिम भन्दा बढी अंशको जोखिम पुनर्बीमकले वा अर्को बीमकले ब्यहोर्नेगरी त्यस्तो बीमकसंग गरिएको करार सम्झनुपर्दछ भन्ने उल्लेख गरिएको छ ।
त्यसैगरी ऐनको दफा ८० मा समेत सोही व्यवस्था गरिएको छ । साथै अर्को तर्फमा देशभित्र स्थापित पुनर्बीमकसंग प्राधिकरणले तोकेको प्रतिशत भन्दा कम नहुने गरी अनिवार्य रूपमा पुनर्बीमा गराउनुपर्नेछ भन्ने व्यवस्थालाई आधार मानेर स्वदेशमा स्थापित दुई पुनर्बीमा कम्पनीलाई सुरुदेखिकै जोखिममा ६÷६ प्रतिशत प्रत्यक्ष हिस्सा छुट्टाउनुपर्ने व्यवस्था प्रचलनमा रहेको छ ,।’ उक्त व्यवस्था ऐनको मर्म अनुकूल नभएको हुँदा ऐनको व्यवस्था बमोजिम बिमा कम्पनीहरूले धारण गर्न मन्जुर गरेको जोखिम बाहेक बाँकी हुन आउने जोखिमको मात्रै पुनर्बीमा गर्नुपर्ने व्यवस्था गरिदिन पनि सङ्घले प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।
बिमा प्राधिकरणका अध्यक्ष ओझासँगको भेटमा अध्यक्ष मल्लसहित पदाधिकारीहरू आजाद श्रेष्ठ, रमेश निरौला, बालकृष्ण श्रेष्ठ र कुनाल कयल सहभागी हुनुहुन्थ्यो ।
प्रतिक्रिया राख्नुहोस्