उत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरण

स्याङ्जा – स्याङ्जाको वालिङ नगरपालिका १ का महिलाहरूलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी वितरण गरिएको छ । स्थानीय सहारा बाख्रा पालन स्वावलम्बी महिला कृषक समूहका सदस्यहरूलाई बीउ पाठी तथा बीउ बोका वितरण गरिएको हो ।
आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्तर्गत भोकालाई एक छाक भोजन होइन , जिउने जुक्ति सिकाऔँ भन्ने मुलनाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भइरहेको वालिङ कृषि विकास परियोजना अन्तरगत बीउका रूपमा पाठा पाठी वितरण गरिएको हो ।
कार्यक्रममा बोल्नुहुँदै वडा नं.१ का वडाध्यक्ष तथा नगर प्रवक्ता पदमराज गुरुङले महिलाहरूलाई उत्पादनमा जोड्न बाख्रा वितरण गरिएको बताउनु भयो । साना किसानलाई उत्पादनमा जोड्न सके मात्रै महिलाहरू आर्थिक रूपमा सबल हुने उहाँको भनाई छ । ग्रामीण क्षेत्रको विकासका लागि महिला उत्पादनमा जोडिन जरुरी रहेको वडा अध्यक्ष गुरुङले बताउनु भयो ।
बाख्राको नस्ल सुधार गरी आम्दानी बढाउन पाठीसँगै बोका वितरण गरिएको वालिङ नगरपालिकाको पशु सेवा शाखा प्रमुख डाक्टर रोशन बस्यालले बताउनु भयो । नस्ल सुधारका लागि कृषकलाई सचेत गराउने र पालिकाले सहयोग गर्ने काम भइरहेको उहाँको भनाई छ । डाक्टर बस्यालले बाख्रा पालका क्रममा आई पर्ने समस्या र यसको सही निराकरणका बारेमा कृषकलाई जानकारी समेत गराउनु भयो ।
कार्यक्रम अन्तरगत सहारा बाख्रा पालन स्वावलम्बी महिला कृषक समूहका २१ जना सदस्यहरूलाई पाठा पाठी वितरण गरिएको परियोजनाले जनाएको छ । समूहका अधिकांश सदस्यहरू दलित महिला रहेका छन् । उनीहरूलाई आवश्यक तालिम सिकाउँदै उत्पादनमा जोड्ने परियोजनाले जनाएको छ ।
कार्यक्रमका कार्यपालिका सदस्य सीता बिक, वडा सदस्यहरू शोभाकान्त काफ्ले,सम्भव अर्याल,खिना काफ्ले समूह की अध्यक्ष सुधा बिक लगायतले बाख्रा पालन र वडा कार्यालयले गरिरहेको क्रियाकलापका बारेमा जानकारी गराउनु भएको थियो ।
वालिङ नगरपालिकाको वडा नं.१ देखि ७ सम्म सञ्चालन भएको परियोजनाले महिला तथा साना किसानलाई उत्पादनमा जोड्न विभिन्न क्रियाकलाप गर्दै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्