दुर्गन्ध भित्रको सुगन्ध (फोटो फिचर)

काठमाडौं- फोहोर, ढल र दुर्गन्धको परिचयसँगै बाँचिरहेको धोवीखोला किनारामा अहिले ढकमक्क फूल फुलेका छन् । रुद्रमति सरसफाइ अभियानमार्फत धेरै संघसंस्थाहरु मिसियर खोला सरसफाइ गरेपछि खोलाको रूप केही हदसम्म फेरिएको भएपनि पूर्ण रुपमा सफा छैन । तरपनि करिडोर वरीपरी फुलेका फुलले दुर्गन्धभित्र सुगन्ध दिइरहेका छन् ।
खोलाको किनारमा रोपिएका विभिन्न प्रजातिका फूल अहिले फुलेका छन् । प्रकृतिले यति सुन्दर बास्ना दिँदा मानिसहरुले खोलामा फोहोर फालेर दुर्घन्ध छ । सँधै झै दुर्घन्ध हुने ठाउँमा अहिले फुल फुलेपछि दुर्गन्ध विर्सेर करिडोरबाट यात्रा गर्ने हरु यहाँ रोकिएर फोटो खिच्ने, टिकटक बनाउने गर्छन् ।
करिब ६ किलोमिटर लम्बाइ रहेको धोवी खोलामा रुद्रमति सरसफाइ अभियान अन्तर्गत १० वटा समूह बनाएर प्रत्येक शनिवार विहान ७ बजेदेखि ९ बजेसम्म खोला सरसफाइ गरिन्छ । त्यसमा स्थानीय तह वातावारण संरक्षण अभियान, श्रम बैंक, हेम्स स्कुल लगायतले पनि सहयोग गर्छन् । नगरविकास प्राधिकरण लगायतका संस्थाहरुले रंगरोगन गर्ने, विरुवा उपलब्ध गराउने लगायतका काम गर्छन् ।
करिडोरमा बनाइएको बगैँचाका कारण खोला वरिपरी भएको फूल तथा अन्य रुख विरुवाले जरा फैलाएर माटोलाई मजबुत बनाउन र खोला किनारको कटान रोक्न सहयोग मिलेको वनस्पति विज्ञ बताउछन् ।
खोलाको किनारामा लगाइएका रुख विरुवाका कारण सौन्दर्य बढेको मात्र छैन, बोटविरुवाले कार्बनडाइअक्साइड सोस्ने र अक्सिजन उत्सर्जन गर्ने हुँदा वातावरणको स्वच्छतामा पनि योगदान दिइरहेका छन् ।
खोला सफाइको काम चलिरहँदा मानिसहरुले खोला किनारमा प्लास्टिक, फोहोर, रसायनजन्य पदार्थ फाल्ने काम पनि रोकेका छैनन् । घरायसी फोहोरदेखि प्लास्टिक, नाली र ढल समेत खोलामा मिसाइएको छ । जसले पानी र वातावरण दुबै प्रदूषित बनाएको छ ।
खोलालाई सफा राख्न निरन्तर सफाई कार्यक्रमका अतिरिक्त खोलालाई फोहोर गर्ने नहुने विषयमा प्रभावकारी ढंगबाट चेतना फैलाउनुपर्ने सामाजिक अगुवाहरुले बताएका छन् ।
प्रतिक्रिया राख्नुहोस्