निर्माणाधीन अरनिको राजमार्गअन्तर्गत पुलबजार क्षेत्रको विस्तार कार्य ठप्प

काभ्रे- निर्माणाधीन अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको बनेपा पुलबजार क्षेत्रमा विस्तार कार्य ठप्प भएको छ ।
एक महिनाअघिदेखि पुलबजार क्षेत्रको करिब २ सय मिटर क्षेत्रमा विस्तार कार्य रोकिएको सडक विभागको सूर्यविनायक-धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जानकारी दिेएको छ ।
आयोजनाका अनुसार, निर्माणाधीन सडक खण्डको पुलबजार क्षेत्रमा सेन्टर लाइनको विषयलाई लिएर स्थानीयले अवरोध जनाएपछि एक महिनादेखि त्यहाँ विस्तारको काम रोकिएको हो ।
यस विषयमा नापी विभाग, स्थानीय जनप्रतिनिधि र स्थानीयबीच समन्वय गरी अवरोध हटाएर चाँडै नै विस्तार कार्यलाई अघि बढाउने तयारी भइरहेको लामा कन्सट्रक्सन कम्पनि लिमिटेडका इन्जिनियर रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार, बनेपाको पुलबजार क्षेत्रमा केही अवरोध भएको छ । अन्य स्थानमा भने काम तीव्र रुपमा नै भइरहेको छ ।
अहिले धुलिखेलमा सडक कालोपत्र गर्ने तयारी भइरहेको छ ।’ सडक विस्तार कार्यमा स्थानीयको अवरोधसँगै विभिन्न स्थानमा घर–टहरा हटाउनुपर्ने, बिजुलीको पोल विस्तार गर्नुपर्ने, अप्टिकल फाइबरका लाइन, हाइटेन्सन पोलहरु हटाउनुपर्ने पनि समस्याहरु पनि रहेका इन्जिनियर श्रेष्ठले जानकारी दिनुभयो ।
‘साँगा–धुलिखेल सडक अन्र्तगत नासिकास्थानमा २ वटा भैंसीपाटीमा ३ वटा , जनागालमा २ वटा, बुडोलमा १ वटा र २८ किलोमा १ वटा गरेर ९ वटा घर–टहराहरु हटाउनुपर्नेछ,’ उनले भने, ‘बिजुलीको पोल सार्ने काम ७० प्रतिशत सकियो, अब ३० प्रतिशत बाँकी छ, १ ठाउँमा हाइटेन्सनको पोल रहेको छ, त्यसलाई पनि सार्न पर्नेछ ।’
उहाँका अनुसार, अहिले धुलिखेलदेखि बाँसघारीसम्म कामको प्रगति राम्रो छ । २८ किलो, बुडोल, बनेपा र पुलबजार क्षेत्रमा भने स्थानीय अवरोध, घर–टहरा हटाउनुपर्ने लगायतका विविध समस्या देखिएको उहाँले बताउनुभयो ।
साँगा–धुलिखल सडकखण्डमा विस्तारको दुई वर्ष बितिसक्दा अहिलेसम्म ४५ प्रतिशत मात्रै भौतिक प्रगति भएको सडक विभागको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जानकारी दिएको छ ।
तीन वर्षभित्र पूरा हुने गरी दुई वर्षअघि सडक विस्तार कार्य थालिएको थियो । दुई वर्षमा जम्मा ४५ प्रतिशत मात्रै भौतिक प्रगति देखिएकाले समयमै निर्माण सकिनेमा आशंका बढेको छ ।
६ लेनको सडक विस्तार कार्यका लागि ८ किलोमिटरको पहिलो खण्ड साँगा–धुलिखेल सडक खण्डका लागि ४ अर्ब ५ करोड ६४ लाख रुपैँया बजेट बिनियोजन भएको थियो ।
उक्त खण्ड विस्तारको ठेक्का लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले पाएको छ । विस्तार योजनाअन्तर्गत दोस्रो खण्डमा ७.५ किलोमिटरको दोस्रो खण्ड सूर्यविनायक–साँगा सडक खण्डका लागि ३ अर्ब ८८ करोड ९३ लाखमा ठेक्का लागेको आयोजनाले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्