दुप्चेश्वरमा एकै दिन पौने दुई लाख भेटी
–धार्मिक पर्यटकीय केन्द्र बन्दै

नुवाकोट – पशुपतिनाथको पर्यायको रूपमा पुजिँदै आएको नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर धार्मिक पर्यटकीय केन्द्र बन्दै गएको छ । काठमाडौँवाट नजिक रहेको दुप्चेश्वर मन्दिरमा भक्तजनहरू आउने क्रम बढेको छ ।
यातायातको सहजताका करण दैनिक रूपमा भक्तजनहरू बढिरहेका छन् । दुप्चेश्वर गाउँपालिका–६ रामतीस्थित ठुलो पहरामा रहेको दुप्चेश्वर महादेव मन्दिरमा शनिवार मात्र एकै दिन पौने दुई लाख रुपैयाँ भेटी सङ्कलन भएको छ ।
भक्तजनहरू बढेका कारण भेटी सङ्कलन पनि बढेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ । दुप्चेश्वरमा शनिवार एक लाख ६१ हजार आठ सय १० रुपैयाँ भेटी संकलन भएको कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्दिरमा मध्याह्न आरतीको ७९ हजार आठ सय रुपैयाँ सङ्कलन भएको छ । दुप्चेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी प्रत्येक दिन बेलुकी ५ बजे गणना गर्ने कार्य भइरहेको छ ।
श्रेष्ठका अनुसार पछिल्लो वर्ष मन्दिरमा आउने भक्तजनको उपस्थिति बढिरहेको र उचित व्यवस्थापनका लागि कोष तथा दुप्चेश्वर गापा कार्यालय क्रियाशील रहेको बताउनुभयो । यातायात र बाटोको प्रभावकारिताका कारण नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर मन्दिरमा यति धेरै भेटी रकम सङ्कलन भएको हो ।
प्रतिक्रिया राख्नुहोस्