ठुला दुई दलको सत्ता सहकार्यले जगाएको आशा

काठमाडौँ- विक्रम संवत २०८१ साल नेपाल र नेपालीका लागि मिश्रिमत रह्यो । राजनीतिक क्षेत्रमा सरकार परिवर्तन भयो । २०८१ असारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभयो । संसदका दुइ ठूला दलबीचको ७ बुँदे सहमतिसंगै ओली नेतृत्वमा नयाँ सरकार बन्यो । नयाँ सरकारको गठनसंगै सुशासन, समृद्धी र आर्थिक सुधारका लागि नयाँ कदमहरु पनि शुरु भयो । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि उपनिर्वाचन भयो । तर नेपालको राजनीतिका केही चर्चित अनुहारहरूका लागि सुखद रहेन ।
पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि भैरहवा कारागार चलान हुनुभयो। ठगी मुद्दामा मुछिनुभएकी राप्रपाकी सांसद गीता बस्नेत र नेपाली कांग्रेसकी सांसद माया राई अझै फरार हुनुहुन्छ।यसैगरी काँग्रेस नेता एवं सांसद धनराज गुरुङ पनि सहकारी प्रकरणमा मुछिनुभयो ।
गण्डकी प्रदेश सभाका सदस्य दीपक मनाङे पुरानो ज्यान मुद्दामा सर्वोच्च अदालतको फैसलापछि जेल पुग्नुपर्यो । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी मानव तस्करी आरोपमा पक्राउ पर्नुभयो । पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागुऔषध मुद्दामा पक्राउ परेपछि धरौटीमा छुट्नुभएको छ। वर्षान्तमा राप्रपाका महामन्त्री धवलशमशेर जबरा र वरिष्ठ नेता रवीन्द्र मिश्र पक्राउ परेर प्रहरी हिरासतमा हुनुहुन्छ। वर्ष २०८१ अपराधमा मुछिनुपरेका नेताहरूको संख्याले “भीआईपीहरू अछुतो होइनन्” भन्ने सन्देश दिएको छ ।
२०८१ सालमा नेपालले अकल्पनीय प्राकृतिक विपद् भोग्नु पर्यो । असार २८ गते चितवनको सिमलतालमा पहिरोले दुई यात्रुबाहक बस त्रिशूली नदीमा बगाउँदा ५९ जना बेपत्ता भए।साउन ३२ गते सोलुखुम्बुको थामेमा बाढीले बजार बगरमा परिणत गर्यो।असोज १० देखि १२ गतेसम्म काठमाडौँ उपत्यका र काभ्रे लगायतका जिल्लाहरुमा बाढी र डुबानमा परी २५० जनाको ज्यान गयो। असार २४ मा कञ्चनपुरको दोधारामा ६२४ मिमी वर्षा मापन भयो । जुन नेपालकै रेकर्ड हो।
वर्षभरिमा पहिरोले ३५९, बाढीले ९७ र हावाहुरीले ७ जनाको ज्यान गयो। विपदका घटनाहरूले जलवायु संकटको चेतावनी दिँदै पूर्वतयारीका लागि सतर्क रहन सचेत र सजग गराएको छ । यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो । सौर्य एअरलाइन्सको 9 N A M E कल साइनको विमान उड्ने बित्तिकै दाहिनेतिर मोडिन लाग्दा धावनमार्गको पूर्वतिर रहेको स्थानमा दुर्घटना भएको थियो ।
विपदको सामना गर्नु परेपनि नेपालले आर्थिक वृद्दिमा आशा जगाएको छ । एशियाली विकास बैंक एडिबीले २०२५ मा नेपालमा ४ दशमलब ४ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ।नेपाली अर्थतन्त्रमा आन्तरिक मागमा सुधार आएको र निजी क्षेत्रको माग सम्बोधन भएको हुँदा अर्थतन्त्रले सुधार लिने प्रक्षेपण गरेको हो । नेपाललाई अन्तर्राष्ट्रियस्तरमा लगानीको उदाउँदो गन्तव्यका रूपमा परिचित गराउने लक्ष्यसहित तेस्रो लगानी सम्मेलन काठमाण्डौमा सम्पन्न भयो । तर सम्पत्ति शुद्धीकरण निवारण कानुनको कार्यान्वयनमा चुक्दा नेपाल वित्तीय कारबाही कार्यदल ( F A T F) को खैरो सूची ग्रे लिष्टमा पर्यो ।
विकास र समृद्धीमा नेपालले २०८१ मा केही महत्वपूर्ण उपलव्धी हासिल गर्यो । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ, सिस्नेखोला–नागढुंगाको मुख्य टनेल र सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोल्न पनि ब्रेक थ्रु यसै वर्ष गरियो । नेपालले जलवायु न्यायको मागसहित अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो धारणा राख्दै दबाब बढाउन र अन्ताराष्ट्रिय जगतको ध्यानाकर्षण गर्न सफल भयो । नेपालले संयुक्त राष्ट्रसङ्घका सभा, कोपका सम्मेलन, क्षेत्रीय सम्मेलनमा समेत जलवायु सङ्कटको सामना गर्नु परेका तथ्य राख्दै आएको छ । पछिल्लो कोप–२९ सम्मेलन राष्ट्रपति र युएनमा प्रधानमन्त्रीको सम्बोधनले जलवायु न्यायको मागमा केन्द्रित छन् । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय अदालत I C J मा नेपालका तर्फबाट जलवायु परिवर्तनका कारण भएको क्षति र पाउनुपर्ने क्षतिपूर्तिको विषय प्रवेश गराउनुभएको छ ।
२०८१ सालमा नेपालले विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरु गुमाएको छ । बहालवाला सांसद तथा पुर्वमन्त्री दिपक बोहरा, पुर्व सभामुख दमननाथ ढुङ्गाना, बरिष्ठ पत्रकार तथा लेखक भैरव रिसालको निधन भयो । नेपाली साहित्य कला र राजनीतिक क्षेत्रले विभिन्न हस्ती गुमायो । साहित्यकार लीलबहादुर क्षेत्री, राजनीतिज्ञ नानीमैयाँ दाहाल, शास्त्रीय संगीतका गुरु तथा गायक गुरुदेव कामत, अभिनेता सीपी लोहनीर साहित्यकार प्रकट पंगेनी ‘शिव’ को पनि यसै वर्ष निधन भयो ।
२०८१ साल नेपाली खेल इतिहासमा स्वर्ण अक्षरले लेखिने वर्ष पनि बनेको छ। विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरूले ऐतिहासिक सफलता हासिल गर्दै विश्वमा नेपालको पहिचान झनै बलियो बनाएका छन्।नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारालिम्पिकमा ऐतिहासिक कांस्य पदक जित्नुभयो । नेपाल क्रिकेट संघ क्यान को आयोजनामा फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग एनपीएल नेपालमा आयोजना भयो । नेपालको अहिलेसम्मको सबैभन्दा ठूलो फ्रेन्चाइज लिगको रुपमा रहेको थियो ।
पूर्व राजा समर्थकहरूले काठमाण्डौको तिनकुनेमा गरेको प्रदर्शन हिंसात्मक बन्दा २ जनाको मृत्यु भयो भने धेरै भौतिक क्षति भयो । हिंसात्मक प्रदर्शनको नेतृत्व गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । वर्षको अन्त्यमा देशभरिका शिक्षकहरू काठमाण्डौ केन्द्रित सडक आन्दोलनमा रहे । आवासीय चिकित्सकहरु पनि आन्दोलित भएभने, लघुवित्त पीडितहरु पनि बर्षभरी नै सडक आन्दोलनमा रहे । नेपाली बजारमा सुनको मूल्यले प्रतितोला एक लाख ८५ हजार तीन सय रुपैयाँ सम्मको उच्च बिन्दुको रेकर्ड बनायो ।नेपाली चलचित्र क्षेत्रले २०८१ मा प्रदर्शन र नाफामा केही नयाँ रेकर्ड बनायो । नेपाली मौलिकतामा आधारित चलचित्र सारङगी दर्शकहरूको राम्रैसंग मन जित्न सफल भयो । समग्रमा वर्ष २०८१ नेपाल र नेपालीका लागि मिश्रित रह्यो । अव नयाँ बर्ष २०८२ को स्वागत गर्दै गर्दा २०८१ को सफलता र असफलता दुवैबाट पाठ लिंदै नयाँ उन्नति र उपलव्धीका लागि सवै नेपाली जुट्न जरुरी छ ।।
प्रतिक्रिया राख्नुहोस्