सम्झौताको नौ वर्षपछि पुल निर्माण कार्यले पायो तीव्रता

कञ्चनपुर- कञ्चनपुरमा ठेक्का सम्झौता भएको नौ वर्षपछि पुल निर्माणको काम अघि बढेको छ । जिल्लाको देखतभूली पर्सिया सडकखण्डअन्तर्गत दोदा नदीमा सम्झौता भएको नौँ वर्षपछि पक्की पुल निर्माण कार्यले गति लिएको हो ।
२०७२ मा लुम्बिनी–राजेन्द्र–कुमार–श्रेष्ठ जेभीसँग पुल निर्माणका लागि २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो । तर पुलका तीनवटा पिलर निर्माणपछि पाइल टेष्टमा समस्या देखिएपछि काम रोकिएको थियो ।
अहिले लागत नबढ्ने गरी पुलको डिजाइन ‘रिभ्यू’ गरेर निर्माण अगाडि बढाइको सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ ।
नयाँ सम्झौताअनुसार पुल निमार्णको काम आगामी माघमा सक्नुपर्ने छ । तर निर्माण कम्पनीले असार मसान्तसम्म काम सक्ने गरी तीव्र गतिमा पुल निमार्णको काम अगाडि बढाएको छ ।
पुलको हालसम्म ६० प्रतिशत काम सम्पन्न भइसकेको पुल निर्माण कम्पनी लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीका इन्जिनियर किशोरराज पाण्डेयले जानकारी दिनुभयो ।
दोदा नदीमा पुल नहुँदा यस क्षेत्रका स्थानीयलाई आवतजावतमा निकै समस्या हुदै आएको थियो । बर्खायाममा ज्यान जोखिममा राखेर नदी तर्नुपर्ने बाध्यता रहेका स्थानीयहरु पुल निर्माण कार्यले तीव्रता पाएसँगै खुशी भएका छन् ।






प्रतिक्रिया राख्नुहोस्