अस्थिरता र अराजकतालाई अस्वीकार गर्दै युवाले देश बनाउने सङ्कल्प गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र पश्चगमनलाई अस्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवाले सङ्कल्प र शक्ति देखाउनुपर्ने बताउनुभएको छ ।
नेकपा (एमाले)द्वारा लोकतन्त्र दिवसका अवसरमा आज भृकुटीमण्डपमा आयोजित युवा उत्सव (युथ सेलिब्रेसन) कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक उपलब्धिको रक्षा गर्दै युवा अघि बढ्नुपर्ने र युवाले देश बनाउने सङ्कल्प गरी त्यसलाई साकार पार्नुपर्ने बताउनुभएको हो ।
देशमा अराजकता मच्चाउने र विभाजन गर्ने तत्वसँग सचेत हुन र नेपाल महान् नेपाल हो, नेपाली जनता महान् जनता हुन् भन्ने विश्वासका साथ महान् नेपालका नेपाली युवा त्यसअनुसार अघि बढ्न प्रधानमन्त्री ओलीले आव्हान गर्नुभयो ।
प्रधानमन्त्री ओलीले वैशाख ११ गते निरङ्कुश राजतन्त्र पराजित र लोकतन्त्रले जितेको दिन भएकोले यसलाई उत्सवका रूपमा मनाउनुपर्ने धारणा राख्नुभयो ।
निरंकुश व्यवस्थाका कारण देश लामो समय अन्धकारको युगमा गुज्रिएको र हामीले अनेक कठिनाइ झेलेर सङ्घर्ष गर्दै देशलाई अहिलेको अवस्थामा ल्याएका हौँ भन्दै उहाँले सामन्ती व्यवस्थालाई पुनःफर्काउन खोज्ने, व्यक्तिका घर, पार्टी कार्यालय र सञ्चार संस्थामा तोडफोड गर्ने र व्यक्तिलाई जिउँदै आगो लगाउनेजस्ता जङ्गली र राक्षसी प्रकृति गलत भएकोले यस्ता कार्य सह्य नहुने बताउनुभयो ।
एमालेको राष्ट्रवादी अडान र दृष्टिकोणका कारणले राष्ट्र विरोधी तत्वहरू एमालेविरुद्ध खनिएका उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता शक्तिले एमालेविरुद्ध हरेक दिन भ्रम फिजाउने कार्य गरेको टिप्पणी गर्नुभयो । एमाले र कांग्रेसको सरकार देशमा स्थिरता दिने गरी एउटा लक्ष्यका साथ बनेको स्पष्ट गर्दै उहाँले आफ्नो पार्टीले सरकारतिर नभई चुनावतिर ध्यान दिइरहेको बताउनुभयो ।
युवालाई भड्काउने अनेक प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले केही व्यक्तिलाई सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका नागरिकलाई भड्काउने प्रयास भएकामा यसतर्फ सचेत हुन युवाहरुलाई आग्रह गर्नुभयो ।।






प्रतिक्रिया राख्नुहोस्