तत्काल विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने अडानमा शिक्षक
संवादलाई निरन्तरता दिने सहमति
नेपाल टेलिभिजन१३ बैशाख, १३:५८
gorkhapatraonline
काठमाडौँ-सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबिच छलफललाई निरन्तरता दिने सहमति भएको छ । आज बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तसहित सरकारी प्रतिनिधि र शिक्षक महासङ्घका प्रतिनिधि बिचको छलफलमा संवादलाई निरन्तरता दिने सहमति भएको हो । छलफलका क्रममा शिक्षकहरूले उठाएका मागहरू पूरा हुनुपर्ने धारणालाई दोहोर्याएको नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताउनु भयो ।
यसैगरि नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले वार्ता अहिले नै निष्कर्षमा पुगी नसकेको बताउँदै आन्दोलन शिक्षक कर्मचारीको सेवा सुविधा मात्रै सुनिश्चित गर्नका लागि नभई गुणस्तरीय शिक्षा प्रदान गर्ने शिक्षा ऐन ल्याउन नेपाल सरकारलाई दबाव दिनकालागि गरिएको बताउनुभयो । आफ्ना माग पुरा गराउनकालागि शिक्षक महासंघ विगत ८५ दिनदेखि आन्दोलनमा र काठमाडौ केन्द्रित सडक आन्दोलन गरेको २५ दिन भएको छ ।
शिक्षकको आन्दोलनकै कारण बैशाख १ गतेदेखि शुरु हुने विद्यार्थी भर्ना अभियान सञ्चालन हुन सकेको छैन भने मुलुकभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प छ । यसैगरि कक्षा १० को परीक्षाको उत्तरपुस्तिका समेत परीक्षण नगर्ने अडानमा रहेका शिक्षकहरुकै कारण कक्षा १२ को परीक्षा समेत १० दिन पछाडी धकेलिएको छ । विद्यालय शिक्षा विधेयक सदनमा प्रवेश गरे लगत्तै आन्दोलन रोक्ने महासंघले बताउँदै आएको छ ।
प्रतिक्रिया राख्नुहोस्