गोरखामा ९ महिनामा ५८ जनाले आत्महत्या

  गोरखा – गोरखामा गएको ९ महिनामा ५८ जनाले आत्महत्या गरेका छन् । साउनदेखि गएको चैत्र मसान्तसम्म ५८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला भित्रको ११ स्थानीय तह मध्य ८ वटा स्थानीय तहमा मात्रै उक्त सङ्ख्याका मानिसहरूले आत्महत्या गरेका हुन् । जसमा अजिर कोट, चुमनुब्री र धार्चे गाउँपालिकामा हालसम्म आत्महत्या गर्नेको सङ्ख्या शून्य छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार सबैभन्दा बढी गोरखा नगरपालिकामा आत्महत्या गर्नेहरूको सङ्ख्या धेरै छ । जहाँ १८ जनाले आत्महत्या गरेका छन् ।

उता पालुङ टार नगरपालिकामा ११ जना, बार पाक सुलिकोट गाउँपालिकामा ८ जना, आरु घाट गाउँपालिकामा ७ जना, शहिदलखन गाउँपालिकामा ४ जना र सिराचोक र भीमसेन थापा गाउँपालिकामा ३–३ जनाले आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेहरूमा १ जना बालक, ५ जना बालिका, ३५ जना वयस्क पुरुष र १७ जना महिला रहेका छन् ।

मानिस किन गर्छन् आत्महत्या ?

आत्महत्या गर्ने मानिस वास्तवमा मर्न चाहँदैन, उसले आफ्नो पीडाको अन्त्य गर्न मात्र खोजेको हुन्छ  । उसले जे जति कारणले होस् आफ्नो जीवनमा निराशाबाहेक अरू केही देख्न छाड्छ, अनि समाधानको मार्ग मृत्यु मात्र देख्छ  । यो मार्गमा अग्रसर हुन व्यक्तिले आत्महत्याका अनेक उपायमध्ये कुनैलाई अपनाउँछ  । मनोविज्ञानले भन्छ– स्वेच्छाले स्वयंको ज्यान लिने कामलाई आत्महत्या भनिन्छ  । यसमा जिम्मेवार अनेक कारण र विधि हुन्छन् । तर आत्महत्याका अधिकांश मामिलामा मनोदशाको मुख्य भूमिका देखिएकै छ  ।

अहिले विश्वमा आत्महत्याको दर बढ्दै गएको देखिन्छ  । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेका विभिन्न अध्ययन प्रतिवेदनअनुसार विश्वमा प्रत्येक ३ सेकेन्डमा आत्महत्याको प्रयास तथा प्रत्येक ४० सेकेन्डमा १ जनाले, १ दिनमा ३ हजार जनाले र १ वर्षमा करिब ७ लाख मानिसले आत्महत्या गर्दछन्  ।

हाल नेपालमा आत्महत्याको दर २३.४ प्रति लाख छ  । सरकारले भने सन् २०३० मा प्रति लाख ४.७ झार्ने लक्ष्य लिएको छ  । नेपालमा १ दिनमा करिब १९ जनाले र प्रत्येक २ घण्टामा १ जनाले आत्महत्या गरिरहेको स्थिति रहेको छ  ।

नेपालमा प्रति वर्ष १६ प्रतिशत मृत्युको कारण आत्महत्या हुने गर्छ । १० वर्ष यताको अवधिमा नेपालमा ५३ हजार २९८ जनाले आत्महत्या गरेको देखिन्छ  । एसियामा श्रीलङ्कापछि दोस्रो स्थानमा नेपाल पर्दछ  । विश्वमा प्रत्येक १ लाख जनसङ्ख्यामा ११ जनाले आत्महत्या गर्छन् तर नेपालमा यो दर प्रति १ लाखमा २४ जना रहेको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.