राजनीतिककर्मी प्रतक्ष्य रुपमा जनताप्रति उत्तरदायी बन्नुपर्छ : उर्जामन्त्री खड्का

 

काठमाडौँ-  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले राजनीतिकर्मी प्रतक्ष्य रुपमा जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभएको छ ।

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाको स्वागतमा आज मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले राजनीतिकर्मीले जनताप्रति थुप्रै वाचा गरेकाले जनताले सम्झनेगरी काम गर्नुपर्ने बताउनुभएको हो । “हामी राजनीतिकर्मी जनताप्रति थुप्रै वाचा गरेर आएका हुन्छौँ, थुप्रै लक्ष्य लिएका हुन्छौँ, लक्ष्य प्राप्तीका लागि आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्छ, राजनीतिकर्मी जनताप्रति प्रतक्ष्य उत्तरदायी भएर काम गर्नुपर्छ,”–मन्त्री खड्काले भन्नुभयो ।

सँधैका लागि आफ्नो कार्यकाल नभएकाले जनताले प्रतक्ष्य अनुभूती हुने खालको काम गर्नुपर्ने उहाँको भनाई थियो । मन्त्री खड्काले सीमित स्रोत र साधनका बीच उत्कृष्ट काम गर्नुपर्ने दायित्व आफूहरुमा रहेकाले यसमा राज्यमन्त्रीको साथ र सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले तीनै तहका सरकारसँग समन्वय गरेर दायित्वलाई जिम्मेवारपूर्वक ढंगले निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो । मन्त्री खड्काले व्यवहारिक ज्ञान, अनुशासित, मर्यादित, जिम्मेवार व्यक्तित्वका रुपमा आफूले राज्यमन्त्रीलाई लिएको बताउँदै आफूले सिकेको, देखेको, भोगेका कुरा र अनुभवलाई राष्ट्र निर्वाहमा लगाउनुपर्ने बताउनुभयो ।

उहाँले सहकार्य, पारदर्शिता र जवाफदेहिताका आधारमा मन्त्रालयको कार्यसम्पादनलाई परिणाममुखी बनाउने उल्लेख गर्नुभयो । एक आपसमा मानमर्दन, संस्कार र संस्कृति जोगाएर अगाडि बढेमात्र सफल भइने उहाँको भनाई थियो ।

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आफू देशकै लागि काम गर्ने व्यक्ति भएकाले कर्मचारीको साथ लिएर देश र मन्त्रीलाई सफल बनाउन लाग्ने बताउनुभयो । देश र जनताको पक्षमा आफूले काम गर्ने उहाँको भनाई थियो ।

मन्त्रालयका उर्जा सचिव सुरेश आचार्य र जलस्रोत तथा सिंचाई सचिव सरीता दवाडीले मुलुकलाई समृद्ध हासिल गर्ने क्षेत्र ऊर्जा र सिँचाइ भएकाले यसको विकासमा लाग्नुपर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.