ज्वालामुखी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

धादिङ – ज्वालामुखी गाउँपालिकाले मैदी स्थित सातदोबाटोमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
विशेषज्ञ सेवाको सहज पहुँच नभएका ग्रामीण भेगका बिरामीलाई लक्षित गरी सञ्चालनमा ल्याएको शिविरबाट शिविरबाट एक हजार भन्दा धेरै स्थानीयले सेवा लिएका छन् ।
ग्रामीण क्षेत्र र सहजै अस्पतालसम्म पुगेर औषधी उपचार गर्न नसक्ने वर्गका मानिसहरूलाई स्वास्थ्य सेवा दिने लक्ष्यका साथ शिविरको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले बताउनु भएको छ ।
ज्येष्ठ नागरिक र गर्भवती आमाहरूलाई घरघरमा नै पुगी निःशुल्क सेवा दिदैँ आएकोमा गाउँपालिकाले अब हरेक तीन तीन महिनामा आफ्नो स्थानीय तहका सबै वडाहरूमा शिविर सञ्चालन गर्ने तयारी पनि गरिरहेको अध्यक्ष दनैले जानकारी दिनुभयो ।
स्थानीय सेवाग्राही भने विशेषज्ञ सेवा सहित निःशुल्क औषधी उपचारको पाएकोमा निकै खुशी भएका छन् ।यसरी आयोजना गरिएको स्वास्थ्य शिविरबाट छिमेकी जिल्ला गोर्खाका स्थानीयले समेत सेवा लिएका थिए । ज्वालामुखी गाउँपालिकासँगको सहकार्यमा रोटरीक्लवअफ नारायणी मिड टाउनको आयोजनामा सो शिविर संञ्चालन गरिएको हो । निःशुल्क स्वास्थ्य शिविरमा हाडजोर्नी, नाक, कान, घाँटी, स्त्री तथा प्रसुती, वाल रोग, डेन्टल र जनरल फिजिसियन सम्बन्धी बिरामीको जाँच गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्