बालीनालीमा छरेको विषादीले मौरी सखाप

पाल्पा- घर वरपरका बगैँचा, आँगनका छेउमा लहरै राखिएका मौरीका घार छन् । बिहान उज्यालो भएदेखि साँझ अबेरसम्म घार वरिपरि नै बस्न मन पराउने जयनारायण न्यौपाने अहिले भने घार देख्दा विक्षिप्त हुनुहुन्छ ।

मौरीघार उहाँलाई आम्दानीको स्रोतमात्र नभई दिन बिताउने माध्यम बनेको थियो । घारसँग रमाउँदै दिन कटाउने उहाँलाई घार देख्दा मन भारी भएर आउँछ । रामपुर नगरपालिका–६ किसानटोलका किसान न्यौपाने घारमा रहेका मौरी मरेर सखाप भएपछि उहाँ चिन्तित हुनुहुन्छ ।

एक्कासी मौरी मरेपछि उहाँलाई व्यवसाय निल्नु न ओकल्नुजस्तै बनेको छ । बगैँचामा मौरीसँगै भुलेर दिन कटाउन पाउँदा समय बितेको पत्तो हुँदैनथ्यो । यसरी नै मौरीको रेखदेख गरेर समय बिताउने गरे पनि हिजोआज भने मौरी बगैँचामा पस्न पटक्कै मन छैन । मौरीका रित्ता घार देख्दा उहाँको मन विक्षिप्त बनेको छ ।

“बगैँचाभरि मौरीको हेरचाह गरेर समयको गएको पत्तो हँुदैनथ्यो, अहिले मौरी सबै मासिएपछि घरमा दिन कटाउन गाह्रो भएको छ”, उहाँले भन्नुभयो, “हिजोका दिन खाना खाने समयबाहेक बगैँचामा नै बसेर दिन बिताउँथे, घरमा कोही आफन्त, साथीभाइ, इष्टमित्र आए पनि बगैँचातिर डुलाउँथे, अहिले बगैँचाभित्र पस्न पनि मन छैन, मौरीघार रित्ता देख्दा मन खिन्न भएर आउँछ ।”

छिमेकीले बालीनालीमा विषादी छरेका कारण फार्ममा भएका मौरी मरेर करिब रु सात लाख बराबरको नोक्सानी व्यहोर्नुपरेको उहाँ बताउनुहुन्छ । विषादीले ८५ गोलाघारमा तयार गरिएको मौरी सबै क्षति हुन पुगेको उहाँले सुनाउनुभयो । विसं २०५५ देखि ‘न्यौपाने मौरी उद्योग’ स्थापना गरेर मौरी उद्योग सञ्चालन गर्दै आउनुभएका न्यौपानेले पहिलोपटक ठूलो क्षति व्यहोर्नुपरेको जनाउनुभयो ।

यस वर्ष उहाँ ६० घार गोलासहित मौरी बिक्री गर्ने तयारीमा हुनुहुन्थ्यो । विभिन्न ठाउँबाट मौरी तयार हुनुअगावै माग आइसकेको थियो । तर पठाउने तयारी गरिरहेको अवस्थामा एक्कासी मौरी सबै नष्ट हुनपुगेको छ ।

“छिमेकीले खेतबारीमा विषादी छर्कँदा मौरीमा ठूलो क्षति पुगेको छ, व्यवसायका क्रममा पहिलोपटक यस्तो क्षति भोग्नुपरेको छ, घारमा राखिएका मौरी मरेपछि बगैँचामा फर्कन मन छैन, रित्ता घार देखेर मन खिन्न बनेको छ”, उहाँले भन्नुभयो ।

बगैँचामा पसेर मौरीको हेरचाह, स्याहार गरेर उहाँले आफ्नो समय बिताउनुहुन्थ्यो । मौरी नै जीवन जिउने साहारा थियो । बुढेसकालको साहारा र नयाँ पुस्तालाई मौरीपालन व्यवसायबारे जानकारी दिन आफ्नै घरमा व्यवसाय चलाउनुभएको हो ।

उहाँ उमेरले करिब आठ दशक भए पनि फूर्तिलो बनेर मौरीसँग रमाउनुहुन्थ्यो । मौरीसँग उहाँको एक किसिमको गहिरो मायाप्रेम नै बसेको छ । गत फागुनको पहिलो हप्ताबाट विषादीका कारण मौरी मर्न थालेको उहाँले बताउनुभयो ।

लामो समयदेखि यस व्यवसाय सञ्चालन गर्दै आउनुभएका न्यौपानेले जीवनकालमै यस्तो महामारीका रूपमा क्षति भोग्नुपरेको सुनाउनुभयो । आफ्ना अभिभावक गुमाउँदाभन्दा बढी पीडावोध भएको दुःखेसो उहाँले व्यक्त गर्नुभयो ।

“मौरीको प्रागसेनले बाली बिरुवालाई राम्रो बनाउँछ, चरनका लागि मौरी बिहान ३:३० बजे नै निस्केर ९ बजे घारमा आएर बस्छन्, बिहानको समयमा बालीबिरुवामा विषादी छर्कँदालगत्तै चर्न जाने भएकाले रस सेवनले मौरी मासिएको छ, साँझ ५ बजेपछि विषादी प्रयोग गरेको भए कम क्षति हुन्थ्यो”, उहाँले भन्नुभयो ।

मह बिक्रीबाट न्यौपानेले वार्षिक रु पाँच लाखदेखि छ लाखसम्म आम्दानी गर्दै आउनुभएको छभने सरदरमा ८० गोलासहितको घार बिक्री गर्दै आएको उहाँ बताउनुहुन्छ । गोलासहित एक घारको रु नौ हजार, खाली घारलाई रु पाँच हजारमा बिक्री भइरहेको छ । गोलासहित बिक्री गर्दा व्यवसायीलाई फाइदा हुने गरेको उहाँको अनुभव छ ।

पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी, गुल्मी, झापालगायत विभिन्न जिल्लामा यहाँबाट मौरी तथा घार पठाउने गरिएको छ । उद्योगमा नै मौरीघार तयार पारिने भएको हुँदा विभिन्न जिल्लाबाट घार खरिद गर्न आउने गरेका छन् ।

मौरीलाई जोगाउन स्थानीय निकायबाट किसानलाई चेतनामूलक कार्यक्रम ल्याउन उहाँको माग छ । मौरीपालन क्षेत्र अध्ययन गरेर कुन समयमा विषादी छर्कँदा उपयुक्त हुन्छ, त्यसबारेमा किसानलाई सुसूचित गराउन पूर्वजानकारी दिइयो भने किसानले पनि उपयुक्त समयमा विषादी प्रयोग गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.