भूगर्भ विज्ञको टोलीद्वारा गाडी भासिएर हराएको घटनाको अध्ययन सुरु

मकवानपुर- हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ गैरीगाउँमा गाडी भासिएर हराएको घटनाको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली मंगलबार हेटौंडा आएको छ ।

उक्त टोलीले घटनास्थलमा औपचारिक रूपमा अध्ययन सुरु गरेको छ । टोलीले उक्त स्थानको भूगर्भीय बनावट, माटोको तह, भूमिगत जलस्रोत तथा चुम्बकीय क्षेत्रको अध्ययन गर्ने भूगर्भविद् नारायण अधिकारीले बताउनुभयो ।

साथै, प्रोटोन म्याग्नेटो मिटर प्रयोग गरी उक्त स्थानको चुम्बकीय क्षेत्र तथा त्यसमा रहेका एनोमेलिक पदार्थको अवस्थाबारे अध्ययन गरिने छ ।

शुक्रबार गैरीगाउँको भित्री सडकमा रोकिराखिएको ना ४ च ४८३३ नम्बरको सिंगल क्याप बलेरो गाडी जमिन भासिएर अचानक बेपत्ता भएको थियो। गाडीमा घाँस काट्ने मेसिन लोड गरिएको थियो ।

प्रारम्भिक रूपमा अगाडिको पाङ्ग्रा भासिएपछि गाडीलाई निकाल्ने प्रयास भइरहँदा जमिन नै भासिएर गाडी हराएको थियो । लगातार तीन दिन खोजी गर्दा पनि गाडीको अवस्था पत्ता नलागेपछि हेटौंडा उपमहानगरपालिकाले भूगर्भविद्हरूलाई बोलाई अध्ययन गर्न पत्राचार गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.