हेटौँडामा गाडी भासिएर हराएको घटनाको अध्ययन गर्न भूगर्भ विज्ञको टोली आइपुग्यो

मकवानपुर – हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ गैरी गाउँमा गाडी भासिएर हराएको घटनाको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली मङ्गलवार हेटौँडा आएको छ । उक्त टोलीले घटनास्थलमा औपचारिक रूपमा अध्ययन सुरु गरेको छ ।
टोलीले उक्त स्थानको भूगर्भीय बनावट, माटोको तह, भूमिगत जलस्रोत तथा चुम्बकीय क्षेत्रको अध्ययन गर्ने भूगर्भविद् नारायण अधिकारीले बताउनुभयो ।
साथै, प्रोटोन म्याग्नेटो मिटर प्रयोग गरी उक्त स्थानको चुम्बकीय क्षेत्र तथा त्यसमा रहेका एनोमेलिक पदार्थको अवस्थाबारे अध्ययन गरिने छ ।
शुक्रवार गैरी गाउँको भित्री सडकमा रोकिराखिएको ना ४ च ४८३३ नम्बरको सिङ्गल क्याप बलेरो गाडी जमिन भासिएर अचानक बेपत्ता भएको थियो। गाडीमा घाँस काट्ने मेसिन लोड गरिएको थियो।
प्रारम्भिक रूपमा अगाडिको पाङ्ग्रा भासिएपछि गाडीलाई निकाल्ने प्रयास भइरहँदा जमिन नै भासिएर गाडी हराएको थियो । लगातार तीन दिन खोजी गर्दा पनि गाडीको अवस्था पत्ता नलागेपछि हेटौँडा उपमहानगरपालिकाले भूगर्भविद्हरूलाई बोलाई अध्ययन गर्न पत्राचार गरेको हो।






प्रतिक्रिया राख्नुहोस्