धरानमा २ हजार ४४२ केजी फुल कोभीमा विषादी भेटिएपछि नष्ट

सुनसरी – सुनसरीको धरानस्थित कृषि उपज बजारमा विक्रीका लागि ल्याइएको ठुलो परिमाणको फुल कोभीमा अत्यधिक मात्रामा विषादी भेटिएपछि नष्ट गरिएको छ। मकवानपुरको पालुङबाट ल्याइएको २,४४२ केजी फुल कोभीमा ९७.४ प्रतिशत अर्गानोफस्फेट नामक विषादी पाइएको हो, जुन मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक मानिन्छ।

केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले आज सार्वजनिक गरेको परीक्षण प्रतिवेदन अनुसार, “सन्तोष कँडेल” नामक व्यवसायीमार्फत बजारमा पठाइएको उक्त फुल कोभीमा अधिकतम सहनशील सीमाभन्दा धेरै गुणा बढी विषादी रहेको पाइयो।

परीक्षणमा उल्लेख भएअनुसार, नमुना नम्बर १४७३५ रहेको फुल कोभीमा ३.५५६ मि.ग्रा/किग्रा विषादी फेला परेको छ, जुन स्वीकृत सीमा (०.५ मि.ग्रा/किग्रा) भन्दा झन्डै सात गुणा बढी हो। यस विषादीको प्रतिशत मात्रामध्ये ९७.४% अर्गानोफस्फेट रहेको जनाइएको छ। यसले गर्दा उक्त उत्पादनलाई “उपभोग अयोग्य” घोषणा गर्दै बजारबाट फिर्ता लिई नष्ट गरिएको धरान कृषि उपज बजार केन्द्रका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनुभएको छ।

स्वास्थ्यमा प्रभाव

अर्गानोफस्फेट नामक विषादी न्यूरोलोजिकल प्रणालीमा असर पार्ने खालको विष हो जसले दीर्घकालीन रूपमा स्नायु प्रणालीमा क्षति पुर्‍याउन सक्छ। यस प्रकारका विषादीयुक्त तरकारी उपभोग गर्दा टाउको दुख्ने, वाकवाकी लाग्ने, झाडापखाला हुने, श्वासप्रश्वासमा समस्या आउने लगायतका लक्षण देखा पर्न सक्छन्।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्रयोगशालाबाट प्राप्त प्रतिवेदनपछि स्थानीय प्रशासनले तरकारीको विषादी परीक्षणलाई कडाइ गर्ने बताएको छ। साथै, उत्पादन क्षेत्र, व्यापारी र ढुवानी प्रक्रियामा समेत निगरानी बढाउने तयारी भइरहेको छ !

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.