सङ्घीयतालाई बलियो बनाउन अन्तर प्रदेश सहकार्यः मुख्यमन्त्री आचार्य

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कोसी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिस्टको नेतृत्वमा रहेको एक प्रतिनिधि मण्डलबिच छलफल भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यकामा भएको कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीयतालाई बलियो बनाउन अन्तर प्रदेश समन्वयलाई थप बलियो बनाउनुपर्ने, सिकाई आदानप्रदानलाई निरन्तरता दिनुपर्ने बताउनु भएको छ ।
प्रदेश तहको बिचमा कानुन निर्माण देखी असल अभ्यासहरूलाई एक अर्काको बिचमा सिकाइको रूपमा आदानप्रदान गर्न सकिने मुख्यमन्त्री आचार्यको भनाई छ । कोसी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले लुम्बिनी प्रदेशले कानुन निर्माण, त्यसको प्रभावकारी कार्यान्वयन र प्रदेशको आफ्नै प्रशासनिक केन्द्र निर्माणमा प्राप्त गरेको सफलता कोसी प्रदेश कालागि सिकाई भएको बताउनु भयो ।
कोसी प्रदेशका उपसभामुख सृजना दनुवारले प्रदेश तहमा हुने सिकाई आदानप्रदानले भावनात्मक रूपमा समेत नजिक बनाउने भएकाले यस प्रकारका अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनु भयो ।
छलफलमा नेपाली कांग्रेसका सचेतक शोभा लिम्बु, नेकपा माओवादी केन्द्रका सचेतक गीता तिम्सिना, नेकपा एसका सचेतक विद्या चाम्लिङ राई, राप्रपाका सचेतक गोपाल गजमेर लगायत सहभागी हुनुहुन्थ्यो । लुम्बिनी प्रदेशबाट मुख्यमन्त्री आचार्य सहित प्रदेश सभा सदस्य यमबहादुर नेपाली, निमा गिरी लगायत छलफलमा हुनुहुन्थ्यो ।






प्रतिक्रिया राख्नुहोस्