जीर्ण पासाङल्हामु मार्ग पुनर्निर्माणको लागि सरकारको ध्यानाकर्षण

नुवाकोट- एक दशकदेखि जीर्ण रहेको पासाङल्हामु मार्ग पुर्न निर्माण गरिनु पर्ने लगायतको माग राखी नुवाकोटवासीको तर्फबाट सरकारको ध्यानाकर्षण गराइएको छ । नुवाकोटको प्रमुख मार्गको रूपमा रहेको पासाङल्हामु मार्ग मर्मतका नाममा हालसम्म बेवारिसे वनेको कारण त्यसको पुनर्निर्माण लागि आवश्यक बजेट विनियोजन गर्न नेकपा एमाले नुवाकोटले सरकारसमक्ष माग गरेको छ ।
काठमाडौँको बालाजुदेखि नुवाकोटको त्रिशूलीसम्म ७० किलोमिटर दुरीको उक्त सडक मार्गको पुर्न निर्माण आवश्यक रहेको जनाउँदै सरकारको ध्यानाकर्षण गराइएको हो । ट्राउट हाइवे र पर्यटकीय ककनी हुँदै जाने सो सडक मार्ग मर्मत र पुनर्निर्माण नाममा एक दशकदेखि जीर्ण र बेवारिसे रहेको छ ।
उक्त सडक बर्खामा हिलाम्मे र हिउंद याममा धुलाम्मे हुँदा नुवाकोटका लाखौँ जनता प्रताडित हुनुपरेको जनाउँदै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसमक्ष २६ बुँदे माग पेस गरेका छन् । नुवाकोटको परिवर्तन, विकास र समृद्धिका लागि नेकपा (एमाले)ले २६ बुँदे माग पत्र सम्बन्धित मन्त्रीसँग भेट गरेर बुझाएको हो ।
नुवाकोटको अधिकांश जनताको विकास र समृद्धिका लागि आवश्यक योजना समेटिएको उक्त माग पत्र एमाले नुवाकोटका इन्चार्ज तथा बागमती प्रदेशका पूर्व आन्तरिक मामिला मन्त्रि केशवराज पाण्डे र एमाले नुवाकोटका अध्यक्ष तथा बागमती प्रदेशका पूर्व कृषि मन्त्रि बद्री मैनालीलगायतको टोलीले मन्त्री द्वय समक्ष जीर्ण पासाङल्हामु मार्गको पुर्ननिर्माण लगायतका विविध माग पत्र बुझाएका हुन् । माग पत्रमा नुवाकोटबाट पहिचान गरिएका महत्त्वपूर्ण पूर्वाधार तथा विकास योजना समावेश गरिएका छन् ।






प्रतिक्रिया राख्नुहोस्