गोरखामा सडक सुरक्षाका लागी राखिएको आधाभन्दा बढी सिसी क्यामेरा चल्दैनन्

गोरखा – गोरखा सदरमुकाममा राखिएका क्लोज सर्किट (सिसी) क्यामेरा आधाभन्दा बढी प्रयोग विहीन भएको छ । उचित मर्मत सम्भार र पर्याप्त बजेट नहुँदा सडक सुरक्षाको लागी भनेर जडान गरिएका क्यामेरा प्रयोग विहीन भएको हो ।

सामुदायिक सेवा केन्द्र गोरखाले सडक सुरक्षा तथा प्रभावकारी प्रहरी सेवाका लागी भनेर जडान गरिदिएको ८० वटा सिसी क्यामेरा मध्य ४५ वटा क्यामेरा प्रयोग विहीन भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

अहिले केबल ३५ वटा मात्र क्यामेरा सञ्चालनमा आएको सुवेदीले बताए । उनका अनुसार वर्षा र चट्याङ्गका कारण सडकमा राखिएको ठुलो सङ्ख्याको क्यामेरा प्रयोग विहीन भएको हो ।

‘मर्मतको लागी गोरखा नगरपालिका सँग समन्वय भइरहेको छ’ उहाँले भन्नुभयो ‘सिसी क्यामेरा मर्मतको लागी कार्यालय सँग पर्याप्त बजेट नहुँदा समस्या भएको हो ।’

सामुदायिक सेवा केन्द्र गोरखाले अच्युतलाल श्रेष्ठ अध्यक्ष भएको बेला  २०७४ सालमा सडक सुरक्षा र प्रहरीको सेवा प्रवाहमा सहजता ल्याउनभन्दै सदरमुकामको अधिकांश स्थानमा क्यामेरा जडान गरेको थियो ।

गोरखा नगरपालिका, बैङ्क तथा वित्तीय संस्था र टोल विकास संस्था तथा विभिन्न सङ्घ संस्थाको आर्थिक सहयोगमा गोरखा नगरपालिका–६, ७ र ८ को मुख्य बजार क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको थियो ।

त्यस यता बर्सेनि क्यामेरा थपिएको भएता पनि समयमा मर्मत–सम्भार र पर्याप्त बजेट नहुँदा क्यामेरा सञ्चालनमा समस्या हुँदै आएको हो ।

सदरमुकामको बराह, गोरखा अस्पताल क्षेत्र र हरमटारी क्षेत्रका केही क्यामेरा मात्र सञ्चालनमा आएको प्रहरीको सञ्चार शाखाले जानकारी दिएको छ ।

सामुदायिक सेवा केन्द्रले विभिन्न क्षेत्रबाट आर्थिक सङ्कलन गरेर गोरखा नगरपालिका–१३ को अबुवा, ११ को १२ किलो बजार, ८ को खोलखोले, पेट्रोल पप्प, बराह क्षेत्र, ६ को हरमटारी, कालिमाटी बजार, शक्तिचोक, पुरानो बसपार्क, पदेली, ठुलो आँगन, तिनधारे, गणेशपाटन क्षेत्र, पाटेचौर र गोरखा अस्पताल क्षेत्र तथा चालिसे धारामामा क्यामेरा राखेको थियो ।

त्यस्तै गरी, वडा नम्बर ७ को मसार, नयाँ बजार क्षेत्र, धारा पानी र रोहटे पानी तथा वडा नम्बर ५ को चिलड्रेन पार्क र वरपरको सडक क्षेत्रमा क्यामेरा राखेको थियो ।

बिगतमा जस्तो सुकै मौसममा पनि सञ्चालन भएको क्यामेरा पछिल्लो समय समयमा मर्मत र पैसाको अभाव देखाएर क्यामेरा सञ्चालन गर्न नसक्दा सदरमुकाममा भएका कतिपय अपराधको समेत अनुसन्धानमा समस्या हुन थालेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.