चीनमा व्यवसायमा जमेका आर के खड्का

यिबु (चीन)- सन् १९९० को दशकमा काठमाडौँ अनामनगरका राजकुमार खड्काको परिवार व्यवसायमा सक्रिय थियो। खड्काका दाजु व्यापार व्यवसायमा जमिसक्नुभएको थियो । दाजुकै प्रभावले उहाँलाई पनि व्यापारप्रति चासो जागेको थियो । त्यसैले पब्लिक युथ क्याम्पसबाट उत्तीर्ण भए लगत्तै उहाँ परिवारकै व्यवसायलाई अघि बढाउने निधोमा पुग्नुभयो ।
त्यो समयमा काठमाडौँमा अधिकांश सामानहरू हङकङ र थाइल्यान्डबाट आउँथे । खड्काको परिवारले ठूलो परिमाणमा बेल्ट, पर्स र छाता ल्याएर नेपालमा बिक्री गर्दै आएको थियो। सन् १९९५ देखि खड्काका भिनाजु व्यापारका लागि पहिलोपटक चीन आउजाउ गर्न थाल्नुभयो । उहाँको सिको गर्दै खड्काका दाजु सन् २००० मा चीन पुग्नुभएको थियो। त्यसयता चीनबाट सामान ल्याउने र बिक्री गर्ने क्रम बढ्दै गयो ।
त्यही क्रममा सन् २००२ मा पहिलोपटक राजकुमार चीनको यिवु सहर पुग्नुभयो । “त्यो समयमा यिवु सहर होइन, गाउँजस्तो थियो, काठमाडौँभन्दा सानो,” खड्काले विगत सम्झँदै भन्नुभयो, “अहिले त यो सहर विश्वकै सबैभन्दा ठूलो उपभोग्य वस्तुको बिक्रीस्थल बनेको छ ।” त्यतिबेला उहाँ काठमाडौँबाट हङकङ हुँदै ग्वाङ्जाओ, अनि यिबु पुग्नुभएको थियो।
चीनले उदारीकरण र खुलापनको सुरुआती चरण पार गरिसकेको बेला खड्का चीन पुग्नुभएको थियो उहाँ । व्यापार गर्ने चाहनेका लागि शाङ्घाई तथा शेन्जेन प्राथमिकतामा थिए, तर यिबुमा त्यो प्रभाव पुगेको थिएन। तर खड्काले यिबुमा बस्ने निर्णय गर्नुभयो। “सुरुमा केही समय अन्य सहरमा बसेँ, तर पछि यिबु नै रोजेँ। यहाँ आउने नेपाली व्यापारीमा सम्भवतः म पहिलो हुँ,” उहाँले भन्नुभयो । त्यसैले यिबु वा अन्य सहरमा बस्ने नेपालीलाई समस्या पर्दा धेरैले उहाँलाई सम्झन्छन्।
खड्कालाई मात्रै होइन, यिबु सहरले पनि उहाँलाई अपनायो। दुई दशकभन्दा लामो बसाइमा उहाँ नेपालीहरू माझ ‘आरके दाइ’ वा ‘आरकेजी’ भनेर चिनिनुहुन्छ । विदेशीहरूले उहाँलाई ‘प्रिन्स’ भनेर चिन्छन्, भने चिनियाँहरूले ‘वाङ् जी’ भन्छन्। नेपाली नाम राजकुमारको अंग्रेजी अनुवाद ‘प्रिन्स’ हुन्छ, त्यसको चिनियाँ अनुवाद ‘वाङ् जी’ भएको उहाँले बताउनुभयो।
यिबु सहरमा बस्न के कुराले आकर्षित गर्यो त भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “यिवु काठमाडौँजस्तै पहाडले घेरिएको सहर हो। त्यो समयमा विदेशीहरू अति नै कम थिए। विदेशी देखेपछि स्थानीयहरू अचम्म मान्थे र भेटेपछि खाना खान बोलाउँथे। उनीहरूको मैत्रीपूर्ण व्यवहारले मलाई यहाँ बस्न मन लाग्यो।”
खड्का यिबु आउँदा सहर विकासको चरणमा थियो। हालको जस्तो व्यापारिक केन्द्र थिएन। लगातार पानी पर्ने सहरमा छाता ओढेर पसल जानुपर्थ्यो। बाटो हिलाम्ये थियो, खेतै खेत थिए, जहाँ उखुको खेती राम्ररी हुन्थ्यो।
सन् २००२ मा चीन आएपछि म यतै व्यवसायमा केन्द्रित भए। सुरुमा चीनमै बस्ने निर्णयमा परिवार सहमत थिएन। विशेष गरी दाजु र आमाले नबस्न भनेको उहाँले सम्झिनुभयो।
उहाँले यिवु आउँदा त्यहाँ २७ तलाको एउटा मात्र भवन थियो। फुतियान बजारको पहिलो चरण निर्माणाधीन थियो। अहिले भने यिवुमा २१ तलाभन्दा अग्ला घरहरू अनगिन्ती छन्। उपभोग्य सामानको होलसेल कमोडिटी बजार १८ किलोमिटर फैलिएको छ, जहाँ १ लाखभन्दा बढी पसल छन्। सबै पसलमा २ मिनेटमात्र हेर्ने हो भने पनि एक वर्ष लाग्न सक्छ।
अहिले यिवुदेखि युरोपको स्पेनसम्म रेल चल्छन्, जसले सामान १८ दिनमा पुर्याउँछ।
खड्का चीन आउँदा भारत–चीनबीच सिधा व्यापार हुँदैनथ्यो। नेपाल माध्यम बन्थ्यो। सन् २००६ देखि चीन–भारत सिधा व्यापार सुरु भएपछि धेरै भारतीय व्यवसायीले फड्को मारेको उहाँले बताउनु हुन्छ। धेरैलाई व्यापार सहज बनाउने काममा पनि म संलग्न भए उहाँले भन्नुभयो।
हाल खड्का चीनमा बसेर आयात–निर्यातको व्यापार गर्नुहुन्छ। अष्ट्रेलियाबाट वाइन ल्याएर चिनियाँ बजारमा बिक्री गर्नुहुन्छ भने चीनबाट अन्य देशमा सामान पठाउँनुहुन्छ। नेपालबाट पनि केही सामान चीनमा लगेर बिक्री गर्ने गरेको उहाँले भन्नुभयो।
दुई दशकको अनुभवमा खड्काले चीनमा व्यापार गर्न सजिलो रहेको बताउनुभयो। यिवुमा मात्रै १०० जति नेपाली व्यापारमा संलग्न छन्। अन्य सहरसमेत जोड्दा यो संख्या अझ बढी हुन्छ।
तर १ अर्बभन्दा बढी जनसंख्या भएको चीनका लागि यो संख्या न्यून हो। नेपालीहरूको इमान्दारीका कारण चिनियाँहरूले उनीहरूलाई कदर गर्ने खड्काको अनुभव छ।
चीनमा व्यापार गर्न सजिलो छ। कम्पनी तथा व्यवसायको एकद्वार नीति छ। सबै प्रक्रिया अनलाइनबाट हुन्छ। धेरै चिनियाँ लगानीकर्ता र पर्यटकलाई नेपाल ल्याउन उहाँले पहल गर्नुभएको छ। पछिल्लो समय नेपालमा चिनियाँ लगानी र पर्यटकको संख्या बढेको छ। तर खड्काका अनुसार यसलाई अझ सहज बनाउन नीतिगत सुधारका साथै हवाई उडानको पूर्वाधारमा सुधार आवश्यक छ।






प्रतिक्रिया राख्नुहोस्