संघाईमा स्थापित पुलचोक इन्जीनियरीङ क्याम्पसका प्राध्यापक सापकोटा

संघाई – पुलचोक इन्जीनियरीङ क्याम्पसमा अध्यापन गरिरहेका इन्जिनियर अनन्त सापकोटा चिनियाँ भाषा सिक्ने अवसर पाएपछि सन् १९९१ मा चीनको संघाईमा आइपुगे । पहिलो पटक आएको बेला सापकोटा केही समयमा भाषा अध्ययन सम्पन्न गरेर स्वदेश फर्किनुभयो ।
दोस्रो पटक २००० मा स्नातकोत्तर गर्न फेरी संघाई आएका उहाँले श्रीमती सम्झना सापकोटालाई समेत साथमा ल्याउनुभयो । त्यसपछि भने सापकोटा परिवार नेपाल फर्किएन र चीनमै केही गर्नुपर्छ भन्दै डटिरह्यो । त्यसकै परिणाम स्वरुप अनन्त सापकोटाले चीनको संघाई स्थित विभिन्न संस्थाहरूमा काम गर्दै अहिले स्वतन्त्र परामर्शदाताको रूपमा कार्यरत हुनुहुन्छ भने श्रीमती सम्झना पनि संघाई स्थित एक अमेरिकी स्कुलमा कार्यरत हुनुहुन्छ ।
अनन्तले संघाईमै विभिन्न चिनियाँ तथा विदेशी कम्पनीमा काम गर्दा गर्दै आफ्नो लगानीमा कस्मेटिक उत्पादनको काम सुरु गर्नुभयो । कस्मेटिक उत्पादनको काम छोडेपछि उहाँले ‘मेलालेउका’ नामक कम्पनीमा म्यानीफ्याक्चर इन्जिनियरको रूपमा काम गर्नुभयो । त्यहाँबाट अवकाश भएपछि पनि उहाँ अहिले संघाईमा स्वतन्त्र परामर्शदाताको रूपमा सक्रिय हुनुहुन्छ ।
संघाईमा काम गर्दा गर्दै व्यापार विस्तार गर्ने सोचले सापकोटा कम्बोडियामा समेत जानुभयो । त्यहाँ व्यवसाय विस्तार गर्ने अपेक्षा राखेको भए पनि सोचेअनुरूप काम नहुँदा उहाँ फेरी संघाईमै फर्किनुभयो । र, संघाईमै आफ्नो कामलाई निरन्तरता दिनुभयो ।
‘अहिले संघाईमै स्वतन्त्र परामर्श दाताको रूपमा काम गरिरहेको छु,’ उहाँले नेपाल टेलिभिजन अनलाईन संगको कुराकानीमा भन्नुभयो ।
अनन्त मात्रै होइन, उहाँकी श्रीमती सम्झना सापकोटा पनि सन् २००१ देखि संघाईमै हुनुहुन्छ । अहिले उहाँ ‘संघाई लिभिङस्टोन अमेरिकन स्कुल’ मा व्यवस्थापकको रुपमा कार्यरत हुनुहुन्छ । उनीहरूको एक छोरा भने अध्ययनका लागि अमेरिकामा छन् । उनको परिवार समय समयमा नेपाल आउने जाने गर्छन् ।
सम्झनाले सुरुमा संघाईमा चिनियाँ भाषा अध्ययन गरेर बस्नुभयो । छोरा समेत जन्मी सकेकाले उहाँले सुरुमा काम गर्न भने समय पनि पाउनुभएन । छोरा हुर्किएपछि सन् २००९–१० देखि उहाँले काम सुरु गर्नुभयो। सुरुमा उहाँले कोरियन कम्पनीमा काम गर्नुभएको थियो ।
संघाई विकासका प्रत्यक्ष साक्षी
संघाई चीनको पहिलो नम्बरको विकसित सहर हो । विश्वमा समेत यो बढी विकसित सहर मानिन्छ । विश्वको सबै भन्दा ठुलो मेट्रो रेल नेटवर्क पनि संघाईकै हो । १९९० सम्म संघाई सामान्य सहरको रूपमा थियो । अहिले संघाई विकसित सहरको रूपमा स्थापित भइसकेको छ । संघाईको यो विकासका प्रत्यक्ष साक्षी सापकोटा परिवार पनि हो ।
‘म १९९९ आउँदा संघाई सामान्य सहर थियो । विदेशीहरूले बनाएका पुराना भवनहरू थिए । अधिकांश ठाउँमा खेतीयोग्य जमिन तथा खेतहरू थिए । त्यस बेलाको नेपालको काठमाडौँको तुलनामा पनि संघाईको विकास कम देखिन्थ्यो ।
तर, अहिले संघाई विकसित सहरको रूपमा स्थापित भएको छ,’ अनन्त सापकोटा भन्नुहुन्छ, ‘सन् १९९२ मा मेट्रोको सुरुवात भएको थियो रे । त्यस यता संघाईले विकास निरन्तर फड्को मार्दै आएको देखिन्छ । अहिले संघाई विश्वकै विकसित सहरको रूपमा विकास भएको छ । पोलिसि रि–फर्म, राजनीतिक स्थायित्व, चीनको काम गर्ने शैली लगायतका कारण संघाई सहित चीनले यो स्तरको विकास गर्न सफल भएको देखिन्छ । यहाँ योजनाबद्ध रूपमा काम गर्ने अभ्यास छ । त्यसले गर्दा चीनले यो स्तरको विकास गर्न सकेको देखिन्छ । ’
नेपालीका लागि कस्तो छ संघाई ?
नेपालीका लागि अध्ययन र विभिन्न काम गर्नलाई संघाईमा राम्रो वातावरण रहेको सापकोटा परिवार बताउँछन् । संघाईमा गणित र विज्ञान विषय अध्ययनको लागि राम्रो रहेको उनीहरू बताउँछन् ।
‘अहिले यहाँको सिस्टम पनि राम्रो छ । यहाँ अध्ययनका लागि निकै राम्रो छ,’ सम्झनाले बताउनुभयो।, ‘काम गर्न आउनेहरुलाई पनि धेरै राम्रो छ । कम्पनी अनुसारको फरक व्यवस्था हुन्छ । मल्टिनेशनल कम्पनीमा भयो भने राम्रो सुविधा हुन्छ । प्रक्रिया पुरा गरेको खण्डमा राम्रो सुविधा रहेको छ । यहाँ काम गर्नका लागि चिनिया भाषाको ज्ञान भने आवश्यक हुन्छ ।’
चीनले सन् १९८४ मा लिएको खुला नीतिका कारण विदेशीहरूलाई पनि चीनमा भविष्य निर्माण गर्न सहज हुन थालेको उहाँ बताउँनुहुन्छ ।
‘सन् १९८४ देखि चीनले खुला नीति लियो । त्यसमा अरु देशका नागरिकले पनि चीनमा कम्पनी खोल्न पाउने र काम गर्न पाउने नीति छ,’ उहाँले भन्नुभयो, ‘त्यो नीतिले गर्दा हामीहरूलाई पनि यहाँ बसेर काम गर्न सहज भएको हो ।’
चीनको संघाईमा बसोबास गरे पनि सापकोटा परिवारको मन भने नेपालमै छ । नेपाल पनि चीनकै जस्तो विकास भएको देख्ने चाहाना भएको सापकोटा परिवार बताउँछन् ।
‘चीनको नीति नियमहरू राम्रो छ । संघाई पनि राम्रो सहर हो । व्यवसायका लागि पनि निकै राम्रो छ,’ अनन्त सापकोटा भन्नुहुन्छ, ‘यहाँको जस्तो वातावरण र विकास हाम्रो देश (नेपाल) मा पनि भइदियोस् भन्ने चाहाना छ ।’






प्रतिक्रिया राख्नुहोस्