पुराना कानुनले जनता अपेक्षा पुरा गर्न सकस भइरहेको छ : मुख्यमन्त्री कँडेल

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आवश्यकताको आधारमा पुराना ऐन कानुन समय सापेक्ष परिवर्तन नहुँदा विकास निर्माणमा समेत समस्या भइरहेको बताउनु भएको छ ।
आज सुर्खेतको वीरेन्द्रनगरमा ‘घुमौँ सौराहा, चितवन अभियान २०२५’ लिएर आएको क्षेत्रीय होटेल सङ्घ चितवनको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले पुराना कानुन परिमार्जन नहुँदा विभिन्न बाधा अड्चनहरू खेप्नु परिरहेको बताउनु भएको हो । उहाँले संघीय शासन व्यवस्था नयाँ, संरचना नयाँ निर्माण गरे पनि ती संरचनालाई निर्देशित गर्ने कानुन पुराना भएकोले जनताको चाहना अनुसार काम गर्न समस्या भइरहेको जनाउनु भयो ।
जनता र जनप्रतिनिधिको अपेक्षा अनुसार कानुन नबन्दा समस्या भइरहेको भन्दै उहाँले समय सापेक्ष आवश्यकताका आधार ऐन, कानुनहरू परिवर्तन हुनुपर्नेमा जोड दिनु भयो । उहाँले कर्णालीमा पर्यटन क्षेत्रको संरचनात्मक विकासका लागि पर्याप्त बजेट नभए पनि उपलब्ध स्रोतसाधनबाटै थुप्रै काम गर्न सकिने अवसर भए पनि कतिपय पुराना कानुनले अवरोध पुर्याई रहेको बताउनु भयो ।
पूर्वाधार अभावले मात्र कर्णाली पछाडि परेको भन्न नमिल्ने बताउँदै उहाँले कर्णालीको जस्तो प्राकृतिक विविधता र सुन्दरता अन्त कतै नभएकाले ‘कर्णालीको विकल्प कर्णाली’ मात्र हुन सक्ने जिकिर गर्नु भयो ।
पर्यटन क्षेत्रको विकासका लागि सरकारको मुख्य भूमिका रहे पनि यसको गतिलाई प्रभावकारी रूपमा अगाडि बढाउन निजी क्षेत्रको पहलकदमी र भूमिका महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो । उहाँले सरकार र कर्मचारीले मात्र विकास गर्नुपर्छ भन्ने मानसिकता त्यागेर विकास सबैको साझा विषय भएकाले सबै एकजुट भएमा निर्माणले सोचे झैँ गति लिने बताउनु भयो ।
कर्णालीमा रारा ताल, फोक्सुन्डो ताल, छायानाथ, बाला त्रिपुरा सुन्दरीलगायत पर्यटकीय क्षेत्र भए पनि विकासको मूलधारमा आउन नसक्दा ओझेलमा परेको उहाँको भनाइ छ ।
कर्णाली प्रदेशको आन्तरिक आम्दानी र विकासका लागि पर्यटन प्रवर्द्धन मुख्य आधार रहेको बताउँदै उहाँले चितवनबाट कर्णालीसम्म आफ्नो व्यावसायिक महत्त्व झल्काउन आउनुभएका सबै व्यवसायीलाई सहकार्य र समन्वयबाट अघि बढ्न सुझाव दिनु भयो । चितवनको सौराहामा पर्यटक बढाउन त्यहाँका व्यवसायीहरू अहिले ‘घुमौँ सौराहा’ अभियान लिएर पश्चिम नेपालका विभिन्न स्थानहरूको दौरामा रहेका छन् ।
क्षेत्रीय होटेल सङ्घ नेपालका अध्यक्ष ओमप्रकाश पाण्डे, महासचिव महेश खनाललगायतको टोलीले पछिल्लो समय सौराहा घुम्न आउने पर्यटक बढेपछि आफूहरू थप पर्यटक भित्र्याउन अभियान सञ्चालन गरिएको जानकारी दिनु भयो ।
कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्याय, नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीलगायतले चितवनको सौराहालाई कर्णालीको पर्यटन प्रवर्द्धनसँग जोड्न आग्रह गर्नु भयो ।






प्रतिक्रिया राख्नुहोस्