उभौली पर्वकाे अवसरमा राष्ट्रपति पौडेलद्वारा शुभकामना

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चाडबाड तथा पर्वहरूले समाजमा आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुर्‍याउने बताउनु भएको छ ।

किरात समुदायको महान् पर्व उभौलीको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले उभौली जस्ता साँस्कृतिक पर्वले देशको साँस्कृतिक विविधताको सम्मान र संरक्षणलाई कायम राख्दै समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबीच आपसी सद्‍भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

उभौली पर्वले सबै समुदायका नेपालीबीचको सामाजिक साँस्कृतिक ऐक्यवद्धतालाई थप सुदृढ गर्दै प्रगतिशील, सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि हामी सबैमा निरन्तर प्रेरणा प्रदान गरोस् भनी राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा व्यक्त गर्नुभएको छ ।

जाडो यामको अन्त्य र गर्मी यामको सुरुवातसँगै जङ्गली जनावर र पशुपन्छीहरू बेँसीबाट लेकतर्फ बसाइँ सर्ने समय मानेर वैशाख शुक्ल पूर्णिमालाई उभौली पर्वको रूपमा मनाइन्छ ।

वसन्त ऋतुको आगमनसँगै बाली लगाउने समय सुरु हुने भएकाले प्रकृति र पितृपूजक किराँतीहरूले बालीनाली राम्रो होस्, प्राकृतिक प्रकोप तथा विपत्ति नआऊन् भनेर भूमि, बाली र पितृपूजा गर्दछन् ।

साथै, विभिन्न परम्परागत नृत्य गर्दै मीठा-मीठा परिकार खाएर आपसमा शुभकामना आदानप्रदान गरी रमाइलोसँग उभौली पर्व मनाउने परम्परा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.