छामेरै मोटरसाइकल मर्मत गर्ने दृष्टिविहीन ढकाल

मकवानपुर- सामान्यतया मानिसहरूले आँखाको भरमा काम गर्छन्, तर हेटौँडा उपमहानगरपालिका-३, बसामाडीका शुदर्शन ढकालले भने आँखाबाट होइन, कान र हातको भरमा काम गरिरहनु भएको छ ।

दुबै आँखा देख्न नसक्ने दृष्टिविहिन ढकाल २८ वर्षदेखि मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आउनु भएको छ । मकवानपुरको हेटौडा उपमहानगपालिका ३ बसामाडीका ढकाल दुबै आँखाबाट देख्न सक्नुहुन्न ।

आँखाको नशा सुकेर युवा अवस्थामै उहाँले दृष्टि गुमाउनुभयो । तर, दृष्टि गुमाएपनि हिम्मत गुमाउनु भएन अनि सुरु गर्नुभयो, सुनाइ र स्पर्शको भरमा मोटरसाइकल मर्मतको काम ।

उहाँले स्कुटी वा बाइकबाट आउने अस्वभाविक आवाज सुनेर समस्याको पहिचान गर्नुहुन्छ । अनि छामेर पाटपुर्जा खोल्ने, मर्मत गर्ने कार्य गर्न थाल्नुहुन्छ । दृष्टि गुमाउनुअघि अरुको ग्यारेजमा काम गर्नुहुने ढकालले पछि आफैले ग्यारेज खोल्नुभयो ।

पहिले देखिको अभ्यास, अनुभवले पोख्त हुनुभएका ढकालले सीपभए असम्भव केही हुँदैन भन्ने प्रमाणित गर्नुभएको छ ।

ढकालको यात्रामा साथदिनु भएको छ, उहाँको जीवनसाथी कमलाले । कमलाले मोटरसाइकल मर्मत सम्बन्धी तालिम समेत लिनुभएको छ । दिनभरी ग्यारेजमा श्रीमानलाई मोटरसाईकलका पाटपुर्जा खोल्ने र जोड्ने कार्यमा सहयोग गर्दै आउनुभएको छ ।

ढकालको काममा ग्राहक पनि सन्तुष्ट छन् । धेरैले ढकालको सीप, व्यवहार र आत्मविश्वासको खुलेर प्रशंसा गर्ने गरेका छन् ।

उहाँले कामको सहजताका लागि आफूले प्रयोग गर्ने औजारहरू आफू अनुकूल स्थानमा राख्ने गर्नुभएको छ । दृष्टि नभएपनि दृढ विश्वासका कारण सुदर्शन ढकालले ग्यारेजबाटै चार जनाको परिवार धानिरहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.