धादिङको ज्वालामुखी गाउँपालिका भित्र ६ सय ४१ किलोमिटर सडक निर्माण

धादिङ – गण्डकी प्रदेशको गोर्खा जिल्लासँग सिमाना जोडिएको ज्वालामुखी गाउँपालिकामा सात वर्षमा सबै भन्दा धेरै सडक पूर्वाधार निर्माण भएको स्थानीय तहको विकास सम्बन्धी तथ्याङ्कमा उल्लेख छ ।
धादिङको सदरमुकामदेखि ज्वालामुखी गाउँपालिका सम्म पुग्ने पक्की कालो पत्रे सडक सहित अन्य चार ओटा अन्तर प्रदेशीय सडक गरी गाउँपालिका भरी ६ सय ४१ किलो मिटर सडक पूर्वाधार निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाइएको छ ।
गत आर्थिक वर्ष र चालु वर्षमा गरी दश किलोमिटर सडकको स्तरोन्नति सहित कालो पत्रेको काम भइसकेको छ भने बाँकी सडक कालो पत्रे गर्ने काम भइरहेको छ ।
ज्वालामुखी गाउँपालिका हुँदै गण्डकी प्रदेशको गोर्खा जोड्ने चार ओटा प्रमुख सडकको रूपमा मानिएको अन्तर प्रदेशीय सडक धमाधम स्तरोन्नति सहित कालो पत्रेको काम भई रहेको गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले बताउनु भएको छ । ती सडकहरू राष्ट्रिय गौरवको आयोजनाको रूपमा मानिएको बुढिगण्डकी जलविद्युत आयोजना निर्माण सुरु भएको खण्डमा पनि आयोजना निर्माणका लागी कोसे ढुङ्गो साबित हुने दाबी स्थानीय तहको छ ।
सडक विकासको पहिलो पूर्वाधार भएको भन्दै पहिले व्यवस्थित सडक निर्माण पछि मात्रै स्थानीय तहको विकासमा सहजीकरण गर्न सकिने बताउँदै स्वास्थ्य शिक्षा लगायत खानेपानीको क्षेत्रमा समेत आफ्नो स्थानीय तहले विकासमा उल्लेखनीय फड्को मारेको दाबी अध्यक्ष दनैको छ ।
पहिले घण्टौँ लगाएर जानु पर्ने ठाउँहरूमा सडक सुविधा भएसगै छिटो छरितो मात्रै नभई आवत जावतमा समेत सजिलो भएको ज्वालामुखीका स्थानीय बासिन्दाको भनाई छ । सडकको कारण स्थानीय ज्वालामुखीका किसानहरूलाई समेत आफ्नो कृषि उपज बजारमा लगेर विक्री गर्न सजिलो भएको छ ।
व्यवस्थित सडक निर्माणसगैं व्यावसायिक रूपमा तरकारी लगायत अन्य कृषि उपज व्यावसायिक रूपमा उत्पादन गर्ने किसानहरूको सङ्ख्या समेत हरेक वर्ष वृद्धि हुँदै गएको छ । जसले गर्दा स्थानीय बासिन्दाहरूको आर्थिक अवस्थामा समेत सुधार भएको छ ।






प्रतिक्रिया राख्नुहोस्