सूर्य विनायक नगर बासीलाई मेलम्चीको पानी खुवाउने सपना बल्ल पुरा भयो

३५ हजार घरधुरीमा पुग्यो शुद्ध खानेपानी

भक्तपुर –  सूर्य विनायक नगर बासी बल्ल मेलम्चीको खानेपानी पिउन पाएका छन् ।

बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले सूर्य विनायक नगरपालिका वडा नं. ६ स्थित पाण्डु बजार हाइटमा निर्मित ८० लाख लिटर क्षमताको ट्याङ्कीबाट लिफ्टीङ सिस्टमबाट सुवर्णेश्वर खानेपानी ट्याङ्की मा पानी खसालेर वितरण कार्यको शुभारम्भ गरेसँगै नगर बासीको चाहना पुरा भएको हो । हाललाई वडा नंं २ देखि ६  सम्म मेलम्चीको खानेपानी वितरण भएको हो ।

नगर बासी मात्रै होइन, जिल्लावासीलाई नै शुद्ध पिउने पानी खुवाउनेमा बागमती प्रदेश सरकारका तर्फबाट आफु लागिपरेको मन्त्री किरण थापाले बताउनुभयो । निकै कठिनाइ र चुनौतीका बाबजुद पनि सूर्य विनायक नगर बासीलाई मेलम्चीको पानी खुवाउन आफू सफल भएको नगरप्रमुख वासुदेव थापाले बताउनुभयो ।

नगर बासीलाई खानेपानीको पहुँचमा पुर्‍याउन ८ करोड बजेट विनियोजन गरी बृहत् खानेपानी आयोजनामार्फत मेलम्चीको पानी वितरण गरिएको जानकारी दिँदै प्रमुख थापाले अब निरन्तर पानी आइरहने बताउनुभयो । खानेपानीको चरम अभावलाई कम गर्न पाण्डु बजारमा रहेको मेलम्ची खानेपानी रिजर्भ ट्याङ्कीबाट पानी वितरण गर्ने गरी केयुकेएल र नगर पालिकाबिच सहमति भएको जिकिर गर्नुभयो । २०८० असोजमा आयोजना सुरु गरेको थियो । दैनिक ३५ लाख लिटर पानी वितरण हुने भन्दै आयोजना संयोजक सरिता तिम्सिना भट्टराईले नगरपालिकाले वाचा गरे अनुसार आयोजना सफल भएको बताउनुभयो ।

नगर प्रवक्ता रवीन्द्र सापकोटाले दोस्रो चरणमा ७ देखि १० वडावासीलाई मेलम्चीको पानी वितरण गर्ने योजना रहेको बताउनुभयो । बाकी वडामा पनि छिटै पानी वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले बताउनुभयो ।

हालसम्म १० हजार ९ सय ७० मिटर पाइपलाइन विस्तार गर्ने कार्य सम्पन्न भएको र अब वडा नंं १ सिरु टारमा २ देखि ३ किलोमिटर पाइपलाइन विस्तार गरिने पूर्वाधार शाखा प्रमुख जनक न्यौपानेले बताउनुभयो ।

सुवर्णेश्वर, पाण्डु जार, बाल कोट, दक्षिण वाराही, सिकारी टार, घट्टे खोलालगायतका ट्याङ्कीमा पठाइएको पानीको परीक्षण सफल भएपछि मङ्गलवार मेलम्ची खानेपानी वितरण कार्यको औपचारिक रूपमा शुभारम्भ गरिएको हो ।

शुभारम्भ कार्यक्रममा केयूकेएल भक्तपुर प्रमुख अनिल त्रिखत्री, वरिष्ठ इन्जिनियर कृष्ण हरि बुढाथोकी, निर्माण व्यवसायी, वडाध्यक्षलगायत जनप्रतिनिधि र स्थानीयको सहभागी रहेको थियो ।

जनचाहाना अनुसार आफूले काम गरिरहेको दाबी जनप्रतिनिधिले गरेका छन् । लामो समयको धैर्यता पछि मेलम्चीको पानी खान पाएको स्थानीयवासी खुसी भएका छन् । सूर्य विनायक बढी जनघनत्व भएको नगरपालिका हो । यहाँ खानेपानीको माग अझै बढिरहेको अवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.