पहिलो पटक ,मिर्गौला प्रत्यारोपण गरेका नेपाली सगरमाथाको शिखरमा पुग्न सफल

काठमाडौँ – मिर्गौला प्रत्यारोपण गरेका एक जना नेपालीले पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी आधार शिविर फर्कनु भएको छ। यसरी अन्य स्वास्थ्य व्यक्ति जस्तै मिर्गौला प्रत्यारोपण गरेका पेम्बा शेर्पाले सगरमाथा आरोहण गरेकोमा उहाँलाई बधाई दिने क्रम जारी रहेको छ। शेर्पा आरोहीहरू मध्ये सबैभन्दा बढी उमेरमा सगरमाथाका साथै सेभेन समिट आरोहण गरेका लाक्पा सोनाम शेर्पाले आरोही शेर्पालाई बधाई ज्ञापन गर्नुभयो। गत बुधबार बिहान ९ बजेर ३० मिनेट जाँदा सगरमाथाको शिखरमा पुग्न सफल शेर्पा आरोहणका लागि १ महिना अघि सगरमाथाको आधार शिविरतर्फ प्रस्थान गर्नुभएको थियो। उहाँको आरोहण अभियानको व्यवस्थापन हाई माउन्टेन ट्रेक्स कम्पनीले गरेको थियो।
जापानमा ७ वर्ष काम गरी पत्नीलाई भेट्न नेपाल आउने क्रममा आरोही पेम्बा शेर्पाको मिर्गौलामा समस्या देखिएको थियो।दुई वटै मिर्गौलाले काम नगरेपछि उहाँलाई प्रत्यारोपणकालागि आफ्नै बाबुले मिर्गौला दान दिनुभएको थियो। यसकालागि उहाँले लामो समय उपचार गराउनु परेको थियो। उहाँले करिब ३० महिनाको अबधिमा नयाँ जीवन पाउनुभएको थियो। मिर्गौला प्रत्यारोपण गरेको २४ महिना पछि सन २०२४ को मार्च २२ तारिखमा उहाँले ६ हजार १ सय ९९ मिटर अग्लो लोबुचे हिमालको सफल आरोहण गर्नुभएको थियो।
“मिर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोहण अभियान २०८१” मिर्गौला प्रत्यारोपणपछि पाएको जीवनलाई सार्थक बनाउन तथा सिङ्गो मानवगतलाई प्रेरणादायी सन्देश दिन सञ्चालन गरिएको आरोही पेम्बा शेर्पाले बताउनुभयो। मिर्गौला प्रत्यारोपणपछि हरेक व्यक्ति अन्य साधारण व्यक्ति जस्तै सबै काम गर्न सक्षम हुने उहाँ बताउनुहुन्छ।
उहाँको जन्म २०४५ साल चैत्र ६ गते सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ७ सोलाबनमा भएको थियो।






प्रतिक्रिया राख्नुहोस्