पनौतीको खोपासी फाँटमा रोपाइँ सुरु

काभ्रे – काभ्रे जिल्लाको पनौती नगरपालिकाका खोपासी फाँटमा यस वर्षको धान रोपाइँ सुरु भएको छ । किसानहरू खेत जोत्न तथा रोपाइँ गर्न व्यस्त देखिएका छन् ।
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि पनौतीको खोपासी लगायतका फाँटहरूमा धान रोपाइँको सुरुवात गरिएको हो । यस पटक समयमै वर्षा भएकाले रोपाइँ सहज भएको छ ।
पनौतीका अधिकांश किसानहरू परम्परागत विधिबाट धान खेती गर्दै आएका छन्, तर केही स्थानमा आधुनिक प्रविधि र उन्नत बीउ प्रयोग गर्न थालिएको छ ।
कृषि ज्ञान केन्द्र काभ्रेका अनुसार यस वर्ष धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ । धान रोपाइँसँगै गाउँघरमा मेलापातको रौनक देखिएको छ ।
पछिल्लो समयमा जिल्लाको धान खेतीयोग्य जमिनहरूमा बढ्दो सहरीकरणका कारण अव्यवस्थित बस्ती विस्तार, प्लटिङ, उद्योगधन्दा कलकारखानाहरू सञ्चालनमा ल्याउनु र विशेष गरी खेती गर्ने जनशक्ति बिदेसिने गरेका कारण धान खेती र उत्पादनमा कमी हुँदै आएको किसानहरू बताउँछन् ।






प्रतिक्रिया राख्नुहोस्