बजेट अभावमा ताँबेको निर्माण कार्य अलपत्र

रामेछाप –  रामेछाप जिल्लाको उमाकुन्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको सिमानामा पर्ने ताँबे डाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले निर्माण  गर्न थालिएको विभिन्न संरचनाहरू बजेट अभावका कारण अलपत्र परेका छन् ।

सङ्घीय सरकार र स्थानीय सरकारको साझेदारीमा निर्माण सुरु गरिएको पार्क, मन्दिर, गुम्बा, चर्च, सिँढी, भ्यु टावर, आराम कक्ष, होम स्टे लगायतका संरचनाहरू बजेटको अभावमा निर्माण कार्य अलपत्र परेको हो । गत असार महिनामा नै निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का लगाइएको उक्त संरचना निर्माणको कार्य अहिले  अनिश्चित बन्दै गएको छ ।

पाँच वर्ष अगाडि देखी निर्माण कार्य थालिएको ताँबेको संरचनाहरू बजेट अभावले पुरा हुन नसकेको उमाकुन्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले बताउनु भयो । सङ्घीय सरकार र उमाकुन्ड गाउँपालिकाको साँझदारीमा निर्माण कार्य गर्ने गरी सम्झौता भएको ५ वर्ष भइसक्दा पनि थुप्रै कामहरू बाँकी रहेका छन् । गत असार महिनामा निर्माण कार्य नसकिएपछि स्थानीय सरकारले पौष महिना सम्मको लागि काम गर्ने म्याद थप गरेको थियो । म्याद थप गरेको ५ महिना बितिसक्दा पनि थप काम हुन नसकेको  स्थानीयहरू बताउँछन् । समयमा नै काम सक्नु पर्ने भए पनि बजेट अभावका कारण काम गर्न नसकिएको उक्त काम गर्ने जिम्मा पाएको निर्माण कम्पनी स्काई एनएफ जेभिका निर्माण व्यवसायी प्रदीप बस्नेत बताउँछन् । उनले  सरकार सँग आफूले काम सम्पन्न गरेको ६७ लाख रुपैयाँ लिन बाँकी भएको गुनासो गरे  ।

ताँबे क्षेत्रलाई रामेछाप जिल्लाकै  उत्कृष्ट  पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ उमाकुन्ड  गाउँपालिकाले काम सुरु गरेको थियो । सङ्घीय सरकारको ६० प्रतिशत र स्थानीय सरकारको ४० प्रतिशत साझेदारीमा निर्माण सम्पन्न गर्ने गरी सुरु गरिएको उक्त योजनाका लागि  सरकारले २ करोड ४२ लाख रुपैयाँमा निर्माण कम्पनीसँग निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर सम्झौता अनुसार सरकारले पैसा उपलब्ध नगराएका कारण अहिले काम अलपत्र परको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.