सिद्धिका चेपाङलाई बङ्गुरको पाठा पाठी वितरण 

रत्न नगर – कालिका नगरपालिका वडा नं १० र ११ का सीमान्तकृत चेपाङ समुदायलाई बङ्गुरको पाठा पाठी वितरण गरिएको छ ।

सौराहा स्थित सपना भिलेज सोसल इम्प्याक्टले चेपाङ समुदायको जीविकोपार्जनको लागि बङ्गुरको पाठा पाठी वितरण गरेको हो ।

कालिका नगरपालिकाको ५० प्रतिशत र सपना भिलेजको ५० प्रतिशत लगानीमा ३० जना किसानहरूलाई जनही दुई दुई वटा बङ्गुरको पाठा पाठी वितरण गरिएको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो । वडा कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रमका बीच वडाध्यक्ष नर जङ्ग प्रजा, इम्प्याक्टका अध्यक्ष गिरी र सञ्चालक सदस्य नारायण वन र डा.कृष्णप्रसाद पौडेललेले चेपाङ समुदायलाई बङ्गुरको पाठा पाठी हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा वडाध्यक्ष प्रजाले चेपाङ समुदायमा गरिबी न्यूनीकरणको लागि सपना भिलेजले अर्थपूर्ण काम गरेको बताउनुभयो । सपना भिलेजले गरेको कामले स्थानीय सरकारलाई सहयोग मिलेको भन्दै उहाँले चेपाङ समुदायको विकासमा सपना भिलेजले गर्ने हरेका काममा स्थानीय सरकारले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा इम्प्याक्टका अध्यक्ष गिरीले चेपाङ समुदायको जीवनस्तर उकास्न आयमूलक कार्यक्रम तथा सीपमूलक तालिमलाई जोड दिएको बताउनुभयो ।

यसैबीच सपना भिलेजद्वारा सञ्चालित समग्र सामुदायिक विकास कार्यक्रम अन्तर्गत शुक्रवार सिद्धिमा युवाहरूको लागि सीपमूलक तालिम सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । सो कार्यक्रममा चेपाङ समुदायका युवाहरू आत्मनिर्भर हुन उनीहरूले लिन चाहेको सीपमूलक तालिमको पहिचान गरिएको छ ।

कार्यक्रममा सहभागी हुन आएका मध्ये सिलाईकटाई ३५ जना, व्यूटिपार्लर ६ जना, पशुपालन २० जना, सवारी चालक ३ जना, कफी बारिस्ता ७ जना, वेटर ५ जना, कृषि र पशुपालनमा २५ जना, मौरी पालन २ जना र पलम्विङमा ९ जनाले तालिम दिने इच्छा प्रकट गरेको सपना भिलेज सोसल इम्प्याक्टकी कार्यक्रम अधिकृत सावित्री पुरीले जानकारी दिनुभयो ।

कार्यक्रममा सपना भिलेज सोसल इम्प्याक्ट सञ्चालक सदस्यहरू नारायण वन र डा.कृष्णप्रसाद पौडेलले सीप विकास मार्फत जीवन स्तर उकास्ने अवसरलाई नगुमाउन आग्रह गर्नुभयो । इम्प्याक्टका अध्यक्ष गिरीले आफूले सिकेको सीपलाई जीवनको आधार बनाउने गरी तालिममा सहभागी हुन आग्रह गर्नुभयो । चेपाङ समुदायको आवश्यकता पहिचान गरी सीपमूलक तालिमलाई अर्थपूर्ण बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको उहाँको भनाई थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.