समुदायहरू परिवर्तन भइरहँदा हाम्रा संस्कृति, इतिहास र सम्पदाहरू लोप हुने चिन्ता बढ्दो छ: मन्त्री पाण्डे

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले समुदायहरूमा आएको तीव्र परिवर्तनका कारण हाम्रा संस्कृति, इतिहास र सम्पदाहरू लोप हुने खतरा बढ्दै गएको बताउनुभएको छ।
आइतबार,विश्व सङ्ग्रहालय दिवस २०२५ को अवसरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पाण्डेले समाज परिवर्तनशील हुँदै गइरहेको भए पनि विगतका संस्कृति र इतिहासलाई संरक्षण गर्नु अत्यन्त आवश्यक भएको उल्लेख गर्नुभयो। तीव्र बसाइँ सराइ र सामाजिक रूपान्तरणका कारण संस्कृति तथा सम्पदाको संरक्षण चुनौतीपूर्ण बन्दै गएको पनि उहाँले बताउनुभयो ।
मन्त्री पाण्डेले सङ्ग्रहालय हरू केवल वस्तुहरूको सङ्ग्रहालय नभई, ती हाम्रा पहिचान र भावनाको प्रतिनिधित्व गर्ने थलो भएको धारणा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, हामीसँग रहेका सम्पदाहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा उचित सम्मान र चर्चा पाउनु पर्छ। सङ्ग्रहालय र सम्पदा संरक्षणका लागि सरकार प्रतिबद्ध छ।
उहाँले सङ्ग्रहालय को महत्त्व र गरिमालाई मूर्त तथा अमूर्त रूपमा संरक्षण गर्नुपर्ने मूल सन्देशलाई आत्मसात् गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। साथै, काठमाडौँ उपत्यकामा नेवार समुदायले आफ्नो संस्कृति जोगाइराख्न सफल भएकोमा खुसी व्यक्त गर्दै त्यसलाई उदाहरणीय अभ्यासको रूपमा उल्लेख समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.