इटहरीको खनारमा अनाधिकृत अक्सफाल्ट उद्योग बन्द

सुनसरी- कानुनी प्रक्रिया नपुर्‍याई सञ्चालनमा रहेको खनारस्थित एक अक्सफाल्ट उद्योग स्थानीयको विरोधपछि अन्ततः बन्द गरिएको छ ।

रंगेलीमा दर्ता भएपनि इटहरी उपमहानगरपालिकाको खनारमा अनाधिकृत रूपमा सञ्चालन हुँदै आएको यो उद्योगले लामो समयदेखि स्थानीय बासिन्दालाई धुवाँ, धुलो र दुर्गन्धले हैरान बनाउँदै आएको थियो ।

व्यवसायी अविनास बोहराको नाममा दर्ता रहेको उक्त अक्सफाल्ट प्लान्टले वातावरणीय प्रभाव मूल्याङ्कन नगरी सञ्चालन गर्दै आएको पाइएको छ ।

अलकत्रा र गिट्टी मिसाएर कालोपत्रे सडकका लागि सामग्री उत्पादन गर्ने यो प्लान्टले शान्ति टोलमा अत्यधिक प्रदूषण फैलाउँदै आएको थियो । स्थानीयवासीहरूका अनुसार, धुवाँ र कालो मुस्लोका कारण घरभित्र बस्न समेत मुस्किल हुने अवस्था आएको थियो ।

स्थानीयको दबाबपछि कारबाही

विरोध क्रमशः गम्भीर बन्दै गएपछि इटहरी उपमहानगरपालिकाले कानुनी प्रक्रिया अन्तर्गत उद्योगमाथि कारबाही थालेको हो । उपमहानगरका वातावरण अधिकृत पुष्पनारायण चौधरीका अनुसार, आवश्यक अनुमति र वातावरणीय स्वीकृति बिना सञ्चालन गरिएको उद्योग तत्काल बन्द गर्न निर्देशन दिइएको छ ।

इटहरी–१२ का वडा अध्यक्ष भुवनराज पोखरेलको नेतृत्वमा स्थानीय बासिन्दाले प्लान्टमै पुगेर उद्योग बन्द गराएका थिए । उहाँले उद्योगले वातावरण प्रदूषित गरेको, राजस्व छली समेत गरेको बताउनुभयो ।

अनुमतिबिना व्यवसाय सञ्चालन गर्नुका साथै सरकारले उठाउनुपर्ने राजस्वसमेत छलिएको पाइएकाले थप कानुनी कारबाही अगाडि बढाइनेछ, वडाध्यक्ष पोखरेलले बताउनुभयो ।

आयोजनाको नाममा निजी स्वार्थ

सुरुवातमा रानी–विराटनगर–धरान छ लेन सडक निर्माणका लागि स्थापना गरिएको भनिएको प्लान्टले हाल आयोजनाको काम सकिएपछि पनि निजी प्रयोजनमा उद्योग सञ्चालन गरेको पाइएको छ ।

विद्यमान कानुनअनुसार यस्तो उद्योग मानव बस्ती तथा संवेदनशील प्राकृतिक क्षेत्रभन्दा टाढा राख्नुपर्ने प्रावधान छ ।

वातावरणीय विशेषज्ञका अनुसार, अक्सफाल्ट प्लान्टबाट निस्कने रसायनजस्तै बिटुमिन, कार्बन मोनोअक्साइड, सल्फर डाइअक्साइड र नाइट्रोजन अक्साइड जस्ता तत्वले दीर्घकालीन रूपमा फोक्सो, छाला, र मस्तिष्कमा असर पुर्‍याउँछन् ।

स्थानीय चन्द्रकला खतिवडा भन्छिन्, “हामीले विगत केही महिनादेखि दम, खोकी, आँखामा पोल्ने, टाउको दुख्ने जस्ता समस्या खेपिरहेका छौँ । प्लान्ट खुलेको समयमा अवस्था झनै भयावह हुन्छ ।”

स्वास्थ्यकर्मीहरूका अनुसार बालबालिका, वृद्ध तथा पहिल्यै रोगी रहेका व्यक्तिहरू यस्ता प्रदूषकको प्रत्यक्ष चपेटामा पर्न सक्छन् । यसले सास फेर्न गाह्रो हुने, फोक्सोको विकासमा अवरोध, र शारीरिक कमजोरी निम्त्याउने खतरा रहन्छ ।

त्यसैगरी, गन्ध, ध्वनि प्रदूषण र वातावरणीय तनावले स्थानीयको मानसिक स्वास्थ्यमा समेत असर पुर्‍याएको छ । लामो समयको तनाव, निद्रामा समस्या, चिडचिडापन, र सामाजिक सम्बन्धमा दरारजस्ता मनोवैज्ञानिक असर देखिन थालेका छन् ।

प्राविधिक तथा नियामक कमजोरीमा प्रश्न

वातावरणविद् डा. सुरेश भट्टराईका अनुसार, “बस्ती नजिक अक्सफाल्ट प्लान्ट सञ्चालन हुनु नै वातावरणीय अन्याय हो । यस्तो उद्योगमाथि सरकारले वातावरणीय मापदण्ड कडाइका साथ लागू गर्नुपर्छ ।”

उहाँले नियमनकारी निकायहरू प्लान्टहरूको नियमित अनुगमन गर्न असफल भएको भन्दै आलोचना गर्नुभयो । यो घटना न केवल स्थानीय स्तरको वातावरणीय समस्या हो, बरु यसले नियमनकारी निकायहरूको कमजोरी, कानुनी बेवास्ता र जनस्वास्थ्यको उपेक्षालाई उजागर गरेको छ ।

यस्ता उद्योगमाथि कठोर कदम चालेर भविष्यमा यस्ता समस्या दोहोरिन नदिने दिशामा सरकारी तत्परताको अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.