नुवाकोटमा रासायनिक मलको चरम अभाव
–किसान मर्कामा, दोव्वर मुल्य तिर्न वाध्य, मागको तुलनामा कोटा थोरै

नुवाकोट- खेत तथा वारीमा लगाइएका अन्न तथा मकैवालीमा रासायनिक मल राख्न नपाउंदा नुवाकोटका किसानहरु मर्कामा परेका छन् । मकै, धान तथा तरकारी वालीमा युरियालगायतका मल राख्न नपाउंदा किसानहरु निकै चिन्तित भएका छन् ।
१२ स्थानीय तह रहेको पहाडि संरचनाको नुवाकोटमा अहिले किसानहरुलाई युरिया मल आवस्यक रहेको छ । तर, यहि मलको चरम अभाव भएको गुनासो किसानहरुको छ ।
अहिले युरिया मलको चरम अभाव हुँदा किसान समस्यामा परेको किसानहरु बताउँछन् । किसानका लागि जिम्मेवार रुपमा सरोकारवाला निकाय प्रस्तुत हुन नसकेको किसानहरुको गुनासो रहेको छ ।
नुवाकोटको अधिकांश स्थानमा यतिखेर खेतमा रोपिएका मकै, तरकारी र धानमा रासायनिक मल राख्ने वेला भएको छ । तर, किसानहरुले पाउन सकेका छैनन् ।
दुई वोरा युरिया मलका लागि सरोकारवाला निकाय सवैतिर धाइयो । तर, कुनै हालतमा मल नभएको जवाफ मात्र आएर रित्तो हात घर फर्किनु परेको चौघडाका किसान रामचन्द्र अगस्तीले गुनासो गर्नुभयो ।
‘मकै, चैते धान, तरकारी बालीका लागि अहिले युरिया मलको अत्यधिक माग रहेको छ,।’ अगस्तीले भन्नुभयो, ‘मलको अभावमा मकै बाली नै बिग्रने चिन्ता भएको छ, मकै बालीमा सिंचाईपछि युरिया मल राख्ने समय बित्दो अवस्थामा छ, किसानले खोजेको बेलामा मल पाउन सकेका छैनन् ।’
सम्वन्धित निकायले वेलैमा मल ल्याउन नसकेका कारण युरिया मलको अभाव भएको हो । मकैका लागि मल राख्ने सिजन वित्न लागिसक्यो । तर, मल पाइन् तारुकाका किसान रामप्रसाद पनेरुको पनि एउटै स्वर छ ।
नुवाकोटमा युरिया मलको माग उच्च भएपनि आवस्यकता अनुसार मल उपलब्ध हुन सकेको छैन । बालीमा लगाउने बेला मल नपाएपछि किसानहरू निकै तनावमा रहेको पिपलटारका किसान वलराम न्यौपाने वताउंछन् ।
नुवाकोटमा १२ हजार हेक्टर क्षेत्रफलमा धान र १५ हजार हेक्टर क्षेत्रफलमा मकै खेति गरिदै आएको छ । किसानहरुलाई प्रतिहेक्टर नौहजार मेट्रिक टन रासायनिक मल आवस्यक पर्ने कृषि प्राविधिकहरु वताउंछन् ।
माग र आवस्यकता अनुसार रासायनिक मल नआउने गरेको कृषि विकास कार्यालय नुवाकोटले जनाएको छ । आजस्यकता भन्दा निकै कम मात्र मल आउने गरेका कारण किसानले थोरै मल पाउने गरेको गुनासो आएको कार्यालय प्रमुख केशव खनालले जानकारी दिनुभयो ।
नुवाकोटका किसानलाई कृषि सामग्री कम्पनी लिमिटेडको शाखा कार्यालय त्रिशूली र साल्ट ट्रेडिङ शाखा नुवाकोटले रासायनिक मल दिँदै आएको छ । तर, ति कार्यालयका गोदाममा अहिले मलको अभाव रहेको जनाइएको छ ।
आवस्यकता अनुसार रासायनिक मल उपलव्ध नहुंदा किसानहरुले अनुदानमा एकहजार एकसय ५० रुपैया प्रति वोराको मल एकहजार पांचसयदेखि दुई हजार रुपैयासम्म तिरेर खरिद गर्न वाध्य हुनुपरेको अर्का चिन्नलकुमार राइले गुनासो गर्नुभयो । सहकारीले कृषि सामग्री कम्पनीवाट प्रतिवोरा नौसय ७ रुपैयामा खरिद गर्ने अनुदानको मल आवस्यकता अनुसार उपलवध नहुंदा किसानहरुले आफ्नो मकै तथा धानवालीमा राख्ने समय गुज्रने समस्याका कारण वाहिर धेरै मुल्य तिरेर खरिद गर्न वाध्य भएको किसानहरुको गुनासो छ ।
किसानलाई मलको अभाव भएको सम्वन्धमा कृषि सामग्री कम्पनी लिमिटेड त्रिशूलीले माग धेरै र कोटा थोरै भएका कारण किसानहरुलाई माग अनुसारको मल उपलवध हुन नसकेको जनाएको छ । नुवाकोटको लागी आइतवारसम्म युरिया तनिसय चार मेट्रिक टन, डिएपि १६ दशमलव दुई मेट्रिक टन र पोटास एकसय चार मेट्रिक टन मौज्दात रहेको कार्यालय प्रमुख दीपक कुमारले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्