प्रधानमन्त्री ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलको शिष्टाचार भेट

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियनको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोसहित काठमाडौँस्थित राजदूत र भारतको नयाँ दिल्लीस्थित गैरआवासीय राजदूतहरूको उपस्थिति थियो । यही जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सम्पन्न सगरमाथा संवादका लागि पहिलोपटक युरोपियन युनियनका यति धेरै राजदूतहरू एकै पटक नेपाल आएका हुन् ।

भेटका अवसरमा नेपाल र युरोपियन युनियनबीचको ५१ वर्षदेखिको कूटनीतिक सम्बन्धको स्मरणसहित नेपालको स्थायित्व, आर्थिक विकास, सुशासनका लागि सहकार्यका विषयमा विमर्श भएको थियो ।

प्रधानमन्त्री ओलीले नेपालले सशस्त्र द्वन्द्व, शान्तिपूर्ण जनआन्दोलन र शान्ति वार्ताका चरण हुँदै संविधानसभाबाट नयाँ संविधान जारी गरेपछि आर्थिक विकास र सुशासनका क्षेत्रमा गति लिएको अवगत गराउनुुभयो । उहाँले मुलुकको राजनीतिक परिवर्तनमा लागेका दुई ठूला दलहरू नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर आर्थिक विकास र सुशासनको प्रतिबद्धतासहित सरकार गठन भएकाले नेपालको समृद्धि र रोजगारी सृजनाका लागि लगानी विस्तार गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा युरोपियन युनियनका राजदूतहरूले नेपालको आर्थिक–सामाजिक विकासका प्रयासमा साथ दिँदै शिक्षा, पूूर्वाधार, स्वास्थ्य, हरित ऊर्जा, सूूचना प्रविधि र जलवायु परिवर्तनका क्षेत्रमा सहयोगको निरन्तर हुने बताएका थिए । राजदूतहरूले सगरमाथा संवादको सफल आयोजनाका लागि नेपाललाई बधाई दिएका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.