सौराहामा सपनाका घरहरूको सार्वजनिक सुनुवाइ

रत्न नगर – रत्न नगर नगरपालिका वडा नं ६ ओद्रा टोलमा सुकुम्वासी परिवारका लागि घर निर्माण गर्दा भएको आम्दानी खर्च सार्वजनिक गरिएको छ । सौराहा स्थित सपना भिलेज सोसल इम्प्याक्ट, रत्न नगर नगरपालिका र घरधनीहरूको संयुक्त लगानीमा सात वटा घर निर्माण गरिएको छ ।
सोमबार बस्तीमै सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरी घर निर्माण गर्दा भएको आम्दानी खर्च सार्वजनिक गरिएको हो । सपना भिलेजका अध्यक्ष ध्रुव गिरीको अध्यक्षतामा भएको कार्यक्रममा आम्दानी खर्च सार्वजनिक गर्दै इम्प्याक्टका वित्त अधिकृत सुदन ओलीले इम्प्याक्टका ३३ लाख २७ हजार,रत्न नगर नगरपालिकाको १० लाख ५० हजार र सम्बन्धित घरधनीको १० लाख ५० हजार गरी ५४ लाख २७ हजार रुपैयाँमा सात वटा घर निर्माण गरिएको जानकारी दिनुभयो । सात सुकुम्वासी परिवारको लागि दोस्रो तलामा चोटा सहित भूइ तलामा दुई वटा कोठा र एउटा सामान्य हल सहितको पक्की घर निर्माण गरिएको हो । एउटा घर निर्माण गर्दा सात लाख ७५ हजार रुपैयाँ खर्च भएको वित्त अधिकृत ओलीले जानकारी दिनुभयो ।
सपना भिलेजका ध्रुव गिरीले मुलुकको तेस्रो पर्यटकीय नगरी सौराहामा रहेका सुकुम्वासी समुदायको अवस्था दयनीय रहेको देखेपछि स्थानीय सरकार सँग सहकार्य गरी सात परिवारको लागि घर निर्माण गरेको बताउनुभयो । सौराहाको काँखमा अभाव झेलिरहेका परिवार रहेको देख्न सकिन उहाँले भन्नुभयो सुरुमा दुःख पाएका सात परिवारलाई घर बनायौँ । उहाँले ओद्रामा निर्माण गरिएको सात सहित रत्न नगर, खैरहनी र राप्तीका ६१ विपन्न परिवारलाई सपना भिलेजले घर निर्माण गरिसकेको जानकारी दिनुभयो ।
जङ्गलको सिमानामा बस्ने परिवारलाई सुधारिएको चुलो, विपन्नलाई घर, बालबालिकालाई पौष्टिक आहार, चेपाङ समुदायलाई जीविकोपार्जनको आधार निर्माण गर्न आयआर्जनका कार्यक्रम तथा युवाहरूलाई सीप विकासको काम सपना भिलेजले गरिरहेको उहाँको भनाई छ ।
कार्यक्रममा रत्न नगर नगरपालिका वडा नं ६ की कार्यबहाक वडाध्यक्ष तथा कार्यपालिका सदस्य बविता चौधरीले ओद्राका सुकुम्वासी परिवारका लागि स्थानीय सरकारको सहकार्यमा सपना भिलेजे आवास निर्माण गरेर ठुलो काम गरेको बताउनुभयो ।
क्षेत्रीय होटल सङ्घ चितवनका महासचिव महेश खनालले आर्थिक अभावका कारण झुप्रोमा बस्दै आएका सुकुम्वासी परिवारका लागि घर बन्नु उदाहरणीय काम भएको बताउनुभयो ।
सौराहाका पर्यटन व्यवसायी गोकर्ण गिरीले दयनीय अबस्थामा रहेको बस्तीको सात वटा घर बनेपछि मुहार फेरिएको बताउनुभयो । जङ्गली जनावर र बाढीको चपेटामा परेको परिवारलाई सपना भिलेजले सुरक्षित गर्ने काम गरेको उहाँको भनाई छ ।
बस्तीकी इन्दिरा अधिकारीले शौचालय नभएर समस्या झेल्दै आएको भन्दै सपना भिलेजले शौचालय सहित पक्की घर निर्माण गरिदिएर ठुलो गुन लगाएको बताउनुभयो । पहिला शौचालय पनि थिएन, सपना भिलेनले त्यो पनि बनाइदियो उहाँले भन्नुभयो अहिले त पक्की घर नै बनाइदिनु भयो । खरले छाएको, खडाइले बारेको घरमा बस्दा सर्पले टोक्छ की भन्ने डर थियो उहाँले भन्नुभयो सर्प र बाढीको जोखिमबाट बच्न दुई तले घरमा बस्ने सपना पुरा छ ।
कार्यक्रममा बाघमारा मध्यवर्ती सामुदायिक वनका परिषद् सदस्य सुदन महतोले सुकुम्वासी बस्ती विकासमा वनले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । सपना भिलेज सोसल इम्प्याक्टकी अनुगमन तथा मूल्याङ्कन अधिकृत राममाया श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा कार्यक्रम निर्देशक सावित्री पुरीले स्वागत मन्तव्य राख्नु भएको थियो ।






प्रतिक्रिया राख्नुहोस्