धार्मिक पर्यटन बढाउन बुटवल–मुक्तिनाथ यात्रा सुरु – फोटो फिचर

रुपन्देही – रुपन्देहीको बुटवल उपमहानगरपालिकाले धार्मिक पर्यटन बढाउन बुटवल–मुक्तिनाथ धार्मिक यात्रा सुरु गरेको छ ।
महानगरपालिकाले हिजोबाट पाल्पाको ऐतिहासिक भगवती मन्दिरबाट धार्मिक यात्राको शुभारम्भ गरेको हो ।
चीनको सिमाना कोराला नाकासँगको धार्मिक पर्यटनको प्रवर्द्धन गर्न र लुम्बिनी मुक्तिनाथ धार्मिक मार्गको प्रचार गर्न जनप्रतिनिधि, कर्मचारीसहितको टोली पाल्पाको भगवती मन्दिर, ऋषि केश मन्दिर, रिडी हुँदै मुक्तिनाथ दर्शनका लागि प्रस्थान गरेको छ ।
मुक्तिनाथ दर्शनका लागि प्रस्थान गरेका जनप्रतिनिधिको टोलीलाई भगवती मन्दिर व्यवस्थापन समितिले स्वागत गरेको छ । धार्मिक पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले धार्मिक पर्यटकीय स्थलहरूको अवलोकन र दर्शन सहित पवित्र धार्मिक पर्यटकीय स्थल मुस्ताङको मुक्तिनाथ दर्शनको यात्रा प्रारम्भ गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।
प्रमुख पाण्डेयले बुटवललाई उत्कृष्ट विश्राम स्थल बनाउने, भारतका विभिन्न स्थलहरूबाट मुक्तिनाथ भ्रमणका लागि प्रचार–प्रसार गर्ने र जसको केन्द्रबिन्दु तथा विश्राम स्थल बुटवललाई बनाउने उद्देश्य रहेको बताउनुभयो ।
उपप्रमुख सावित्रीदेवी अर्यालले तानसेन र बुटवलको विकासमा हातेमालो गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोकमान महर्जनले बुटवलको जित गढीमा मनाइने विजय उत्सवमा पाल्पालाई पनि सहभागी बनाउनु पर्ने र पाल्पामा मनाइने विजय उत्सवलाई पनि विशेष ध्यान दिन बुटवल उपमहानगरपालिकालाई आग्रह गर्नुभयो ।











प्रतिक्रिया राख्नुहोस्