भक्तपुरको प्राचीन लक्ष्मी नरसिंह मन्दिर उद्घाटन

भक्तपुर –  मल्लकालीन मौलिक स्वरूपमै पुन निर्माण गरिएको प्राचीन लक्ष्मी नरसिंह मन्दिरको आज भव्य कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

भक्तपुर नगरपालिका वडा नं. ४ गःहिटीस्थित उक्त मन्दिरको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले उद्घाटन तथा शिला पत्रको अनावरण गर्नुभएको हो । ९० सालको भूकम्पले पूर्ण क्षति पु¥याएपछि लक्ष्मी नरसिंह मन्दिर पुनः निर्माणमा जनताले देखाएको एकता र सहयोगले अहिले पनि उत्तिकै उदाहरणीय र नमुना कार्य नगर बासीले देखाएको बताउनुभयो ।

नरसिंह शक्तिको प्रतीक भएको भन्दै उहाँले लक्ष्मीसहितको नरसिंहले सन्तुलनको प्रतीक दर्साउने जिकिर गर्नुभयो । शक्तिको आडमा मात्र विजय हासिल हुने कुरा सत्य नभएको भन्दै कला संस्कृति संरक्षण र सम्बर्धन आफैमा सेवामुखी काम भएको धारणा राख्नुभयो ।

२०७२ सालको भूकम्पपूर्वकको भन्दा निकै फरक मल्लकालीन मौलिक स्वरूपमा मन्दिर पुन निर्माण गरिएको नगर प्रमुख सुनिल प्रजापतिले बताउनुभयो । मन्दिर पुनः निर्माणका लागि रु. ७ करोड ७७ लाख छुटाएकोमा उपभोक्ता समितिले रु. ४ करोड ८३ लाखमा पुन निर्माण सम्पन्न गरेको जानकारी दिनुभयो ।

विदेशीको सहयोगविना नै २०७२ सालको भूकम्पपछि तहसनहस भएका सयौँ सम्पदाहरू आफ्नै बलबुदामा पुन निर्माण र जीर्णोद्धार गर्न भक्तपुर सफल हुनु गौरवको विषय भएको बताउँदै प्रमुख प्रजापतिले सम्पदा संरक्षणमध्ये लक्ष्मी नरसिंह मन्दिरको पुन निर्माण पनि एक भएको बताउनुभयो ।

कार्यक्रममा उपप्रमुख रजनी जोशी, प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, इतिहासविद् प्रा.डा. पुरूषोत्तम लोचन श्रेष्ठ, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माक, स्थानीय कालिगड, उपभोक्ता समितिका अध्यक्ष न्हुछेराम भेले, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईलगायतले सम्पदा संरक्षणका माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनसँगै देशको आर्थिक विकासमा उल्लेखनीय भूमिका खेलेको बताउनुभयो ।

लक्ष्मी नरसिंह मन्दिर पुनः निर्माणले टौमढी क्षेत्रलाई थप आकर्षक स्वरूप दिएको भन्दै कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले मन्दिर पुनः निर्माणका डकर्मी जगतराम न्हिसुतु र  सिकर्मी नाइके बलराम शिल्पकारलाई दोसल्ला ओढाई सम्मान गरिएको बताउनुभयो । मन्दिर उद्घाटनपूर्व भक्तपुर दरबार क्षेत्रबाट नगर बासीले सांस्कृतिक बाजागाजासहित क्वाछेँ, टोमढी हुँदै लक्ष्मी नरसिंह मन्दिरसम्म र्‍याली निकालेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.