बागमती प्रदेश सरकारको विनियोजन विद्येयकका सिद्धान्त र प्राथमिकता  प्रदेश सभा बैठकमा पेश

मकवानपुर –  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को विनियोजन विद्येयकका सिद्धान्त र प्राथमिकता प्रदेश सभा बैठकमा पेश गरेको छ । मंगलबार बसेको प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आगामी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको हो । उहाँले संविधानले दिएको अधिकार, संघीय तथा प्रदेश सरकारको आवधिक योजना र दिगो विकासका लक्ष्यलाई आधार मानेर बजेटका दिशा निर्धारण गरिएको जानकारी दिनुभयो। मन्त्री काफ्लेले प्रदेशको विकासलाई तीव्रता दिँदै अर्थतन्त्रलाई गति दिन सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले समन्वय, साझेदारी, आन्तरिक आय वृद्धि र राजस्व संकलनलाई बजेटको मूल प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।
संघीय प्रणालीलाई सबलीकरण गर्न प्रदेश सरकारका दोहोरो कार्यक्षेत्र भएका संरचनाहरू खारेज गरिने र कार्यान्वयनमा स्पष्टता ल्याइने भएको छ। स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणमा समानीकरण अनुदानलाई प्राथमिकता दिइने र सशर्त, समपूरक तथा विशेष अनुदानका कार्यक्रमहरूको नियमित अनुगमन तथा मूल्यांकन गरिने प्राथमिकता र सिद्धान्तमा उल्लेख छ ।
आगामी वर्षको बजेटमा प्रादेशिक सडक, जोखिमयुक्त पुलहरूको प्रतिस्थापन, एकीकृत बस्ती विकास र पहुँच मार्गहरूको निर्माणलाई प्राथमिकता दिइनेछ। कृषि क्षेत्रमा चक्लाबन्दी, जैविक मलमा आधारित खेती, सिँचाइ सुविधा विस्तार, सुरक्षित भण्डारणदेखि बजारसम्मको श्रृंखला विकास गरिने उल्लेख गरिएको छ ।
गुणस्तरीय शिक्षाका लागि सार्वजनिक विद्यालयको संस्थागत विकास, अनुसन्धान र नवप्रवर्तनका लागि बागमती प्रदेश विश्वविद्यालयको पूर्वाधार विकास, स्वास्थ्य क्षेत्रमा पूर्वाधार र जनशक्ति विस्तार, सहकारी क्षेत्रको सुदृढीकरण तथा नियमन, र नवीकरणीय ऊर्जाको पहुँच विस्तारमा जोड दिइएको मन्त्री काफ्लेले बताउनुभयो ।

 

प्रदेशको भाषिक र सांस्कृतिक सम्पदाको संरक्षण, प्रदेश सरकारी कामकाजको भाषाको रुपमा मान्यता प्राप्त तामाङ भाषा र नेपाल भाषाको प्रयोगका सम्बन्धमा प्रशासनिक क्षमता विकास , स्थानीय तहमा उद्योग व्यवसाय प्रवर्धनको लागि एक वडा एक उद्यम, एक निर्वाचन क्षेत्र एक बहुउद्देश्यीय खेलमैदान निर्माण, स्टार्टअप प्रवद्र्धन, अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकतामा राखिएको छ।
विपद् जोखिम न्यूनीकरणका लागि वातावरणमैत्री पूर्वाधार विकासमा विशेष ध्यान दिइनेछ। सार्वजनिक खर्चको प्रभावकारिता बढाउने, पूँजीगत खर्चमा सुधार ल्याउने र सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत सेवा प्रवाहलाई सुधार गरिने योजना सिद्धान्त र प्राथमिकतामा उल्लेख छ । मन्त्री काफ्लेले पेश गर्नुभएको विनियोजन विद्येयकका सिद्धान्त र प्राथमिकता माथि आजबाट बैठमा सांसदहरुले धारणा राख्ने छन् । प्रदेश सभा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.