कोश टप्पु आरक्षको मध्यवर्ती क्षेत्रमा मानव अधिकारबारे स्थलगत अध्ययन सुरु

स्थानीय समस्या, अधिकार र द्वन्द्व व्यवस्थापनका पक्षमा सुझाव सङ्कलन

सुनसरी –  सङ्घीय संसद् अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले कोश टप्पु वन्यजन्तु आरक्षको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायको मानव अधिकार अवस्था बुझ्न स्थलगत अध्ययन सुरु गरेको छ । समितिको टोलीले आरक्षसँग जोडिएका स्थानीय बासिन्दा, जनप्रतिनिधि, निकुञ्ज प्रशासन तथा सरोकारवालाहरूसँग अन्तर्क्रिया गर्दै सुझाव सङ्कलन सुरु गरेको छ ।

समितिका सभापति विमला सुवेदीका अनुसार अध्ययनको उद्देश्य आरक्ष क्षेत्रभित्र बसोबास गर्ने समुदायका मानव अधिकार, कानुनी चुनौती, द्वन्द्व समाधान तथा दीर्घकालीन सुधारका उपाय पहिचान गर्नु हो । “देशभरका मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायको अवस्था अध्ययन गर्न चार वटा टोली बनाइएको छ, जसको पहिलो चरण कोश टप्पुबाट सुरु गरिएको हो,” सुवेदीले बताउनुभयो ।

अध्ययन टोलीमा सभापति सुवेदीसहित सांसदहरू पुष्पबहादुर शाह, रञ्जनकुमारी झा, समितिका सचिव रामहरि थापालगायतका प्रतिनिधिहरुको सहभागी रहेको छ ।  टोलीले सुनसरी, सप्तरी र उदयपुर जिल्लाका विभिन्न स्थानमा स्थलगत अवलोकन गर्दै आज देखी तीन दिन सम्म सुझाव सङ्कलन गर्ने छन् ।

मानव–वन्यजन्तु द्वन्द्व र समाधान खोजी
कोश टप्पु वन्यजन्तु आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवका अनुसार आरक्ष क्षेत्रभित्र मानव र वन्यजन्तुबिचको द्वन्द्व दिनप्रतिदिन जटिल बन्दै गइरहेको छ । यस्ता समस्या समाधानका लागि दीर्घकालीन नीति निर्माण र स्थानीय जनताको सहभागिता अत्यावश्यक रहेको उहाँले बताउनुभयो ।

समितिको स्थलगत अध्ययनले स्थानीय सरोकारवाला, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, सुरक्षा निकाय, सञ्चारकर्मी तथा अन्य सरोकारवालासँग छलफल गरी आवश्यक सुधारका सिफारिससहित प्रतिवेदन तयार गर्नेछ ।

देशभरका आरक्षमा अध्ययनको तयारी
कोश टप्पु बाहेक समितिले ढोरपाटन सिकार आरक्ष, बर्दिया, शुक्लाफाँटा, चितवन तथा पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्रमा समेत मानव अधिकारको अवस्था, कानुनी अवरोध र सुधारका सम्भावनाहरू अध्ययन गर्ने योजना बनाएको छ । सबै क्षेत्रबाट प्राप्त सुझाव तथा सिफारिसहरूको आधारमा विस्तृत प्रतिवेदन तयार पारिने र त्यसअनुसार नीतिगत सुधारको सिफारिस गरिने सभापति सुवेदीले जानकारी दिनुभयो ।

स्थलगत अध्ययनबाट सङ्कलित सुझावहरू संसदीय समितिमा पेस गरिनेछ, जसको आधारमा नीति निर्माणमा सहयोग पुर्‍याउने लक्ष्य रहेको समितिको भनाइ छ ।

कोसी टप्पु वन्यजन्तु आरक्ष र यसको महत्त्व
नेपालको पूर्वी तराईमा अवस्थित कोसी टप्पु वन्यजन्तु आरक्ष जैविक विविधताको दृष्टिले अति महत्त्वपूर्ण क्षेत्रका रूपमा चिनिन्छ । १ सय ७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो आरक्ष २०३२ सालमा स्थापना गरिएको हो, मुख्यतः जङ्गली भैँसी (अरना) को संरक्षणका लागि ।यसको सङ्ख्या ४ सय ४१ पुगेको छ ।

आरक्षको क्षेत्र कोसी नदीको आसपास फैलिएको हुँदा यहाँ जल, स्थल र दल दलीय पारिस्थितिक तन्त्र पाइन्छन् । यही कारणले गर्दा यहाँ विभिन्न प्रजातिका वनस्पति र जनावरहरूको बसोबास रहेको छ । हालसम्म यहाँ ५ सय ३५ भन्दा बढी प्रजातिका चराहरू, २ सय प्रजातिका पानी हाँस ,४० स्तनधारी,१ सय ४१ प्रजातिका माछा,७७ प्रजातिका पुतली,२१ प्रजातिका पट्याग्रार ५ सय १४ प्रजातिका वनस्पति याहाँ पाइन्छ ।

कोसी टप्पु अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त “रामसार साइट“ पनि हो, जसले यसको जलचर जैविक विविधताको महत्वलाई पुष्टि गर्छ । यो क्षेत्र विशेष गरी प्रवासी चराहरूको लागि अत्यन्तै उपयुक्त मानिन्छ । जाडो याममा साइबेरिया, मंगोलिया लगायत उत्तरतर्फका देशहरूबाट हजारौँ चराहरू यहाँ आउँछन् ।

यहाँ पाइने अर्ना दुर्लभ  प्रजाति हो, जसको संरक्षणमा आरक्षको भूमिका महत्त्वपूर्ण मानिन्छ । साथै, हात्ती, चित्तल, बँदेल, नीलगाई, र विभिन्न प्रजातिका सर्प तथा माछा पनि यहाँ देख्न पाइन्छ ।

आरक्षको पर्यावरणीय, शैक्षिक तथा पर्यटन महत्त्व पनि उच्च छ । कोसी टप्पु भ्रमण गर्ने पर्यटकहरूले चराहरूको अवलोकन, डुङ्गा यात्रा, र स्थानीय आदीवासीहरुको संस्कृतिको अनुभव गर्न सक्छन् । यसले स्थानीय समुदायको जीविकोपार्जनमा पनि सकारात्मक प्रभाव पारेको छ ।

तर, आरक्षमा देखिएको मानव–वन्यजन्तु द्वन्द्व, नदी कटान, र चरन क्षेत्रको अतिक्रमणले दीर्घकालीन संरक्षणका लागि चुनौती उत्पन्न गरिरहेको राष्ट्रिय प्रकृतिक संरक्षण कोषका कोसी प्रदेश संयोजक वीरेन्द्र गौतमले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.