मुहान पुरिँदा हुम्ला नाम्खाका स्थानीय खोलाको धमिलो पानी पिउन बाध्य

हुम्ला- हुम्लाको नाम्खा गाउँपालिका वडा नं ६ तिल गाउँका स्थानीय बासिन्दा खोलाको धमिलो पानी पिउन बाध्य भएका छन् ।
जेठ १ गते आएको बाढीले खानेपानीको मुहानमा क्षति पुर्याएपछि उनीहरु खोलाको पानीको भरमा जीवन निर्वाह गर्न बाध्य भएका हुन ।
घर, पुल, सिँचाइ र जलविद्युत् आयोजना क्षति पुर्याउनुका साथै १८ परिवार घर छोडेर खुला आकाश मुनिको त्रिपालमुनि बस्नु पर्ने बाध्यता अझै हटेको छैन ।
गाउँभन्दा माथिको हिमताल भासिएर लेदोसहितको बाढीले खानेपानीको संरचनामा समेत क्षति पुर्याएको स्थानीयले बताएका छन् ।
गाउँमा खानेपानीको पाइप र धारा नै बाढीले बगाएपछि एक हप्तादेखि गाउँ नजिकैको गुनछुसा खोलाको धमिलो पानी खान बाध्य भएको नाम्खा गाउँपालिका वडा नं ६ तिल गाउँका स्थानीय बताउँछन ।
खोलाको धमिलो पानीका कारण गाउँका बासिन्दा बिरामी हुने चिन्ता भएको लामाको भनाइ छ ।
हुम्लाको तिलगाउँमा जेठ १ गते राति एक्कासी आएको बाढी र पहिरोले स्थानीयका घर, पुल, लघु जलविद्युत् आयोजना र खानेपानी, उवा र आलु खेतीलगायतका संरचनामा क्षति पुगेको छ ।
बस्ती जोखिममा परेपछि तिलगाउँका १८ परिवार घर छाडेर असुरक्षित रूपमा त्रिपालमुनि बस्नु परेकाले राहत उपलब्ध गराइदिन स्थानीयले माग गरेका छन् ।
तिल गाउँमा खानेपानी मर्मतका लागि पाइप पठाउन सहयोग गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ ई. दिनेश भट्टले बताउनुभयो । तर पनि हाल तिल गाउँका स्थानीय नागरिकले खोलाको धमिलो पानी पिउनुपर्ने बाध्यता छ ।
पहिरो पीडितहरुलाई हिजो सरकारी स्तरबाट वितरण गरिएको पहिलो खेपको राहत वितरण गरिएको छ ।।
प्रतिक्रिया राख्नुहोस्