अन्तर्राष्ट्रिय ज्योतिष वस्तु तथा तन्त्र सम्मेलनमा ५ देशका प्रतिनिधिको सहभागिता

धनकुटा- धनकुटाको सागुरीगढी गाउँपालिका–६ स्थित प्रसिद्ध पर्यटकीय स्थल भेडेटारमा शनिवारदेखि अन्तर्राष्ट्रिय ज्योतिष वस्तु तथा तन्त्र सम्मेलन सुरु भएको छ। सम्मेलनमा नेपालका साथै भारत, बङ्गलादेश, मलेसिया, हङकङ लगायतका देशबाट आएका ख्यातिप्राप्त ज्योतिषविद्, तन्त्र साधक, पण्डित तथा अनुसन्धानकर्ताहरूको उपस्थिति रहेको छ। सहभागीहरूले आ–आफ्ना देशका परम्परागत तान्त्रिक तथा ज्योतिष पद्धतिबारे अनुभव आदानप्रदान गरिरहेका छन्।
कार्यक्रमको उद्घाटन गर्दै कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत काकीले ज्योतिष काउन्सिल बनाएर काम गर्नुपर्ने बताउनु भएको छ। उहाँले ज्योतिषको नाममा दुरुपयोग भइरहेकोले काउन्सिल बनाएर नियन्त्रण र नियमन गर्नुपर्ने बताउनु भएको हो। उहाँले विभिन्न देशमा ज्योतिष र वास्तुको आधारमा काम भइरहेकोले बताउँदै ज्योतिष शास्त्रमा केही अन्ध विश्वास भएकोले त्यसलाई हटाउनु पर्ने बताउनु भयो।
मुख्यमन्त्री कार्कीले तान्त्रिक अध्ययन गर्ने केन्द्रीय कार्यालय कोसी प्रदेशमा बनाउन सहयोग गर्ने बताउँदै धनकुटा इलाम लगायतका ठाउँमा बनाउन सकिने बताउनु भयो। उहाँले संस्कार संस्कृति सम्पदा भएकाले रक्षा गर्नुपर्ने दायित्व सबैको रहेको बताउनु भयो।
फरक प्रसङ्गमा मुख्यमन्त्री कार्कीले कोसी पर्यटन वर्ष मनाउन सुरु गरेकाले सबैको साथको आवश्यकता रहेको बताउनु भयो। उहाँले किराँत धर्म कोसी प्रदेशबाट सुरु भएको त्यसको उजागर गर्दै पर्यटन वर्ष मनाउन थालिएको बताउनु भयो। उहाँले आफूलाई पहिचान विरोधीको आरोप लागे पनि आफू पहिचानको पक्षमा रहेको दाबी गर्नुभयो। मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले खुवालुङको विकासमा काम गरिहरेको र किराँत धर्मगुरु आत्मानन्द लिङदेनको बसोबास भएको इलाममा विकासको काम गरिरहेको बताउनु भयो।
यस्तै उहाँले महागुरु फाल्गुननन्दको नाममा पाँचथरमा ६८ किमी लामो पदमार्ग निर्माण भइरहेको, धनकुटा र तेह्रथुममा १ सय किमीको लालीगुराँस पदमार्ग, इलाममा २० किमीको चियाबारी पदमार्ग र वराहक्षेत्रबाट भोजपुर खोटाङ हुँदै १ सय ६८ किमी लामो मुन्धुम पदमार्ग निर्माणको काम भइरहेको बताउनु भयो।
धार्मिक पर्यटन प्रवर्द्धन, सबै विभिन्न ज्योतिष विधामा अनुभव, आदानप्रदान, ज्योतिषको जिज्ञासाहरूको समाधान, ज्योतिष आचारसंहिताको कार्यान्वयन गर्न र ज्योतिषी गुरुहरूलाई विभिन्न अवार्डद्वारा सम्मान वितरण गर्दै विश्व ज्योतिष महासङ्घको आयोजनामा सम्मेलन सुरु भएको हो। आगामी १२ गतेसम्म सञ्चालन हुने सम्मेलनमा विश्व ज्योतिष महासङ्घका अध्यक्ष डा. लोकनाथ पौडेल, दक्षिण एसियाली ज्योतिष महासङ्घका अन्तर्राष्ट्रिय समितिका सभापति लक्ष्मण पन्थी, दक्षिण एसियाली ज्योतिष महासङ्घका अध्यक्ष सहदेव विष्ट, नेपाल ज्योतिष परिषद्का अध्यक्ष कमलप्रसाद काफ्ले लगायतका ज्योतिषका विद्वानहरूको उपस्थिति रहेको छ। सम्मेलनमा ज्योतिष वास्तु तथा तन्त्रको पूर्वीय दर्शनका विभिन्न क्रियाकलाप सञ्चालन हुने बताइएको छ।
वास्तु तथा ज्योतिष सम्मेलनमा प्रशिक्षणको कार्यक्रम हुने बताइएको छ। अन्तर्राष्ट्रिय सम्मेलनको पहिलो दिन भेडेटारमा वैदिक पूजा अनुष्ठान, तान्त्रिक अनुष्ठान र विभिन्न व्यक्तिलाई विशेष सम्मान र सहभागीहरूलाई अवार्डद्वारा सम्मान गरिएको छ। भेडेटारमा भएको अन्तर्राष्ट्रिय सम्मेलनले धार्मिक पर्यटनलाई टेवा पुग्ने बताइएको छ।






प्रतिक्रिया राख्नुहोस्