बेइजिङमा उच्चस्तरीय भेटवार्तामा व्यस्त पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ- चीन भ्रमणमा रहनुभएका पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आज बैइजिङमा उच्चस्तरीय भेटवार्ताका साथै विभिन्न कार्यक्रमहरुमा व्यस्त रहनुभयो । पूर्व राष्ट्रपति भण्डारी र चीनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ जियाञ्चाओ नेतृत्वको उच्चस्तरीय प्रतिनिधि मण्डलबीच द्वीपक्षीय वार्ता भयो ।
द्वीपक्षीय वार्तामा चीनका तर्फबाट नेपालको विकास, शान्ति र स्थिरताका लागि सधै साथै रहेर सशकार्य गर्ने प्रतिवद्धता ब्यक्त भयो । चीनिया प्रतिनिधिमण्डलका नेता मन्त्री लिउले छिमेकको शान्ति र विकासमा निशर्त सहयोग रहने स्पष्ट पार्नुभयो ।
चीनिया विशेषताको समाजवादको चर्चा गर्दै मन्त्री लिउले नेपाली विशेषता बोकेको जनताको बहुदलीय जनवादको अभ्यासप्रति खुशी व्यक्त गर्नुभयो । मन्त्री लिउले समाजवादको लक्ष्य प्राप्त गर्न नेपालका वामपंथी र अहिले सरकारमा रहेको दल नेपाली काँग्रेसबीच सहकार्यको आवश्यकतामा पनि जोड दिनुभयो ।
उहाँले सदैव नेपालको विकास र हितमा रहेको चीनले नेपालको बृहत्तर हितका लागि सवै राजनीतिक दलहरुले मिलेर काम गरेको हेर्न चाहेको समेत बताउनुभयो । पूर्व राष्ट्रपति भण्डारीले चीनले गरिरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै चीन सरकारको सहयोगमा सञ्चालित अधुरा विकास आयोजनाहरु पूरा गर्ने कार्यलाई नेपाल सरकारले प्राथमिकता दिएको जानकारी गराउनुभयो । उहाँले चीनले नेपाललाई कठिन अवस्थाहरुमा गरेको सहयोगको समेत स्मरण गर्नुभयो ।
पूर्व राष्ट्रपति भण्डारीले आफू राष्ट्रपति रहँदा चीनका राष्ट्रपति सी चिनफिङबाट भएको नेपाल भ्रमणको स्मरण गर्दै चीनबाट प्राप्त सद्भाव र सहयोगप्रति धन्यजाद व्यक्त गर्नुभयो । उहाँले नेकपा एमाले तत्कालिन महासचिव मदन भण्डारीले गर्नुभएको चीन भ्रमणको समेत स्मरण गर्नुभयो ।
पूर्व राष्ट्रपति भण्डारीले अग्ला हिमाल र पहाडले नेपाल र चीनको आपसी सम्बन्धलाई छेक्न नसक्ने बताउदै नागरिक स्तरको हार्दिकतापूर्ण सम्बन्धलाई यस क्षेत्रको विकासमा उपयोग गर्नुपर्ने पनि बताउनुभयो । नेपाली उच्चस्तरीय प्रतिनिधमण्डलको नेतृत्व गर्नुभएका पूर्व राष्ट्रपति भण्डारी ९ दिने भ्रमणमाक्रममा भोली मंगलबारसम्म बेइजिङमा रहनु हुने छ ।






प्रतिक्रिया राख्नुहोस्