पिउने पानीका लागि कुवाको भर: रहर की बाध्यता

धनकुटा – पहिले घरघरमा पानीको धारा नपुग्दा कुवा मुख्य खानेपानीको स्रोत बनिएको थियो। अहिले घरघरमा पानीको धारासहित प्रशोधनका लागि विभिन्न प्रविधिहरू प्रयोग भइरहे पनि धनकुटा नगरका अधिकांश बासिन्दा अझै पनि खानेपानीको लागि कुवामै भर पर्ने गरेका छन्।
धनकुटा नगरपालिकाको वडा नं. ६ स्थित आयुर्वेद अस्पताल मुनी रहेको कुवा अहिले पनि प्रमुख पानीको स्रोत बनिरहेको छ। १९८६ सालमा स्थापित आयुर्वेद औषधालय परिसरमा रहेको यो कुवालाई “डाक्टर कुवा“ भनेर चिनिन्छ। नगरपालिकाको तथ्याङ्क अनुसार, करिब २ सय परिवार यो कुवाबाट पानी प्रयोग गर्छन्।
त्यस्तै, वडा नं. ७ स्थित जिरो प्वाइन्ट कुवाबाट दैनिक २५० भन्दा बढी परिवार पानी प्रयोग गर्दै आएका छन्। वडा नं. ४ मा रहेका गणेश धारा, जनकल्याण र वाग्ले कुवामा पनि स्थानीयको भिड लाग्ने गर्छ। वडा नं. ५ को बिहीबारे हटियामा पनि एक कुवा रहेको छ। धनकुटा बजार क्षेत्रमा रहेका तिन दर्जन भन्दा बढी कुवा अहिले पनि पानीको लागि प्रयोग भइरहेका छन्।
धनकुटा नगरपालिका वडा नं. ४ विनोद सुवेदी घरमा पानीको धारा आएको लामो समय भए पनि करिब १० वर्ष अघिदेखि पिउनको लागि कुवाको पानी बोकेर प्रयोग गर्दै आएको बताउनु हुन्छ। उहाँका अनुसार धारामा आउने पानी पिउन योग्य छैन की भन्ने लागेर पहिलेदेखि नै पिउनको लागि कुवाको पानी बोक्ने गरिएको हो। यस्तै धनकुटा नगरपालिका वडा नं. ६ का नरेश श्रेष्ठले पनि कुवाको पानी बोक्नु भएको लामो समय भएको छ। उहाँका अनुसार कुवाको पानी प्रयोग गरिरहँदा धाराको पानी नमिठो हुने गरेको छ। यस्तै धनकुटा नगरपालिका क्षेत्रमा वितरण भएको धाराको पानी वर्षाको समयमा धमिलो आउने र ३÷४ दिनसम्म पनि सफा नहुने भएकाले कुवाकै भर पर्नुपरेको छ। धनकुटा बजारमा वितरण गरिएको पानी फिल्टर गरिए पनि वर्षाको समयमा निकै धमिलो आउने गरेको छ।
धनकुटा नगरपालिकाको तथ्याङ्क अनुसार, करिब ९० प्रतिशत घरमा पानीको धारा पुगेको छ। खानेपानीको धारा घरघरमा पुग्नुका बाबजुद पनि ५० प्रतिशतभन्दा बढी धनकुटेलीहरू घरमा धारा पुगे पनि कुवाको पानी प्रयोग गर्दै आएका छन्। धनकुटा नगर क्षेत्रमा ४ सय १० पानीको स्रोत रहेकोमा, ३ सय ८९ स्रोत पिउन योग्य रहेको नगरपालिकाका सूचना अधिकारी विकास अधिकारीले जानकारी दिनुभयो।
धनकुटा नगरपालिका क्षेत्र बाहेकका अधिकांश ग्रामीण क्षेत्रमा पनि खानेपानीको लागि कुवा र मूलको प्रयोग हुने गरेको छ। समग्र धनकुटा जिल्लामा करिब १० प्रतिशत घरपरिवारलाई भने कुवाबाट पानी ल्याउने बाध्यता रहेको छ। तर, स्वैच्छिक रूपमा कुवाको प्रयोग अझै बढी देखिन्छ। पछिल्लो घरघरमा पाइप लाइनको उपलब्धतासँगै गाउँघरमा कुवाबाट पाइपमार्फत पानी घरघरमा पुर्याइने गरिएको छ।






प्रतिक्रिया राख्नुहोस्