बूढी गण्डकी जलविद्युत आयोजना निर्माणमा राजनीतिक समझदारी आवश्यक ः अध्यक्ष दाहाल

गोरखा- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बुढी गण्डकी जलविद्युत आयोजना निर्माणका लागि राजनीतिक समझदारी आवश्यक रहेको बताउनु भएको छ ।
गोरखाको सहिद लखन गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको मङ्गलवार समुद्घाटन गर्नुहुँदै उहाँले आयोजनाको मोडालिटी र स्रोत व्यवस्थापनका विषयमा छलफल गर्दागर्दै निर्माणको काममा ढिलाइ भएको बताउनुभयो । गोरखा र धादिङको सिमानामा निर्माण गर्न लागिएको बूढी गण्डकी जलविद्युत आयोजना बहु आयामिक परियोजना भएको भन्दै यसलाई जुनसुकै अवस्थामा पनि निर्माण हुने उल्लेख गर्नुभयो ।
आफू प्रधानमन्त्री भएका बेला बूढी गण्डकी आयोजना निर्माणको विषयमा छलफल गर्न सिंहदरबारमा सबैभन्दा धेरै बैठक बसेको स्मरण गर्दै उहाँले ढिलै भए पनि आयोजना निर्माण अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो । पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष दाहालले पालिकाहरूको भवन मात्र सुविधा सम्पन्न नभई अव जनताले पाउने सेवा प्रवाह पनि परिणाममुखी र अर्थपूर्ण हुनुपर्नेमा जोडिनुभयो ।
सिंहदरबार गाउँ गाउँमा भनेर लागू गरिएको सङ्घीयतामा जनताले सहज र सरल सेवा प्रवाह प्राप्त गर्न सके मात्र त्यसको औचित्य पुष्टि हुने उहाँको भनाई छ । आजै गोरखाको भीमसेन थापा गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको उद्घाटन कार्यक्रममा सम्बोधन गर्नुहुँदै अध्यक्ष दाहालले संघीयतापछिको विकास र सम्बृद्धिले बिस्तारै गति लिएको बताउनुभयो ।
सहिद लखन गाउँपालिकाको प्रशासकीय भवन भवन कुल सात करोड ७८ लाख रुपियाँमा निर्माण गरिएको गाउँपालिकाका गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारीले जानकारी दिनुभयो । त्यस्तै भीमसेन थापा गाउँपालिकाको प्रशासनिक भवन कुल तीन करोड ४० लाख ५२ हजार ७०६ रुपियाँ ८ पैसा बजेटमा निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारीले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्