गल्छी–देवी घाट–छहरे–टोखा सडकमा चाप

–पृथ्वी राजमार्गका सबै यातायात सोही मार्गमा

नुवाकोट- नुवाकोटबाट काठमाडौँ प्रवेश गर्ने छोटो दुरीको गल्छी–देवी घाट–छहरे–टोखा सडकमा सवारी चाप बढेको छ । सजग भई यातायात सञ्चालन गर्न सम्बन्धित निकायले आग्रह गरेको छ ।
राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य मार्ग पृथ्वी राजमार्गमा पुलमा प्वाल पुर्नुका साथै त्रिभुवन राजपथको नागढुंगा–नौबिसे खण्ड दिउँसो बन्द हुँदा गल्छी–देवी घाट–छहरे–टोखा सडक खण्डमा सवारी चाप बढेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उक्त सडक खण्डमा सवारी चाप बढेपछि सुरक्षा सजकता अपनाएर यातायात सञ्चालन गर्न आग्रह गरिएको प्रहरी नायव उपरीक्षक विक्रम लामाको भनाई छ ।
गल्छी–देवी घाट–छहरे–टोखा सडक खण्डमा दैनिक पाँच सय भन्दा बढी साना तथा ठुला यातायातका साधनहरू चल्ने गरेका छन् । उक्त सडक खण्डमा सवारी चाप उल्लेखनीय रूपमा बढेको थाना पतिका व्यवसायी रामप्रसाद पुडासैनीको भनाई छ ।
पृथ्वी राजमार्गको नागढुंगा–मुग्लिङ सडक यही जेठ १० देखि पिप्ला मोड–नागढुंगा सडक खण्डमा स्तरोन्नतिको काम भइरहेको छ । त्यसका लागि पनि उक्त खण्ड अस्थायी रूपमा बन्द गरिएको हो ।
धादिङको थाँक्रे गाँउपालिका ७ र ८ जोड्ने पृथ्वी राजमार्गको सोप्यागं खोला पुलमा भ्वाङ परेपछि मङ्गलवार गल्छी वाट यातायातका साधनहरू नुवाकोट हुँदै गल्छी–देवी घाट–छहरे–टोखा सडक खण्डवाट काठमाडौँ गइरहेका छन् । नँया पुल निर्माण गर्ने कार्य गरिरहेको क्रममा पुरानो पुलको वालमा क्षति पुगेकोले काठमाडौँबाट धार्के हुँदै महादेबवेसीतर्फ जाने र महादेबवेशीबाट काठमाडौँतर्फ जाने बाटो अवरुद्ध भएपछि गाडीहरू नुवाकोटतर्फ लागेका हुन् ।
सानातिना र मझौला सवारीसाधनहरूले वैकल्पिक मार्गका रूपमा सीता पाइला–राम कोट–धार्के सडक र सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर) हुँदै गल्छी मार्ग प्रयोग गर्नुपर्ने सुझाव दिइएको छ । सडक सुधारका कारण जेठ १० देखि २५ गतेसम्म बिहान साँढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन रोकिनेछ ।
यद्यपि, आपत्कालीन सेवाका लागि दमकल, एम्बुलेन्स र सुरक्षा निकायका सवारी साधनहरूलाई स्वतन्त्र आवागमनको अनुमति दिइएको छ । पुलमा भ्वाङ परेर आवागमन रोकिन गएपछि प्रहरीले साना सवारी साधनलाई पृथ्वीराज मार्गको गल्छीबाट नुवाकोटको बाटो हुँदै काठमाडौँ र काठमाडौँ टोखा नुवाकोट हुँदै गल्छीको बाटो प्रयोग गर्न आग्रह गरेको छ ।
भत्किएको पुल मर्मतको कार्य भई रहेकाले सुचारु हुने बितिकै यातायात सेवा नियमित हुने पनि प्रहरीले  जनाएको छ । उता, नागढुंगा नौबिसे सडक खण्ड दिउँसोको समयमा बन्द गरेर कालोपत्रे गर्ने कार्य भइरहेको र नौबिसे हुँदै काठमाण्डौं जाने सवारी साधन धार्के सितापाईला सडकबाट सञ्चालन भइरहेकोमा धार्के भन्दा केही तल रहेको सोप्याङको पुलमा भ्वाङ परेपछि थप समस्या आएको हो ।
यसैबिच, नुवाकोटको शिवपुरी गाउँपालिका  ६ मा अम्मटे–लप्से पुल सडक खण्ड एक हप्ता बन्द भएको छ । शिवपुरी गापाले शिवपुरी ६ स्थित पुरानो गाविस भवन महत टोल अम्मटे–लप्से पुल सडक खण्ड कालो पत्र गर्ने कार्यक्रम भइरहेकोले यही जेठ १५ गतेसम्म उक्त सडक खण्डमा सवारी साधन आवागमन बन्द भएको जनाएको छ ।
शिवपुरी गापाले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । खोले गाउँको पसल देखी लप्से पुलसम्म ४ किलोमिटर सडक खण्ड कालोपत्रेको कार्य भइरहेको शिवपुरी गापा अध्यक्ष गोविन्दप्रसाद थपलियाले वताउनुभयो।
कुल ४ किलोमिटर सडकका लागि बागमती प्रदेश सरकार अन्तर्गत भौतिक योजना तथा पूर्वाधार मन्त्रालयबाट बजेट प्राप्त भएको थियो । शिवपुरी नुवाकोटको पर्यटकीय स्थल हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.