पिएसबी नेपाल अन्तर्गत एनटिभी वर्ल्ड र डिजिटल प्ल्याटफार्मका लागि बजेट विनियोजन

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आर्थिक बर्ष २०८२/८३ का लागि ७ अर्ब ७२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

बजेट बक्तव्य दिँदै अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सो रकम विनियोजन गरिएको बताउनुभयो ।

यसैगरी, सार्वजनिक प्रसारण सेवा (पिएसबी) अन्तर्गत एनटिभी वर्ल्ड र डिजिटल प्याटफार्मका लागि सरकारले बजेट विनियोजन गरेको छ ।

बजेट विनियोजनसँगै नेपाल टेलिभिजन र रेडियो नेपाल गाभिएर बनेको पिएसबी नेपालले अब एनटिभी वर्ल्ड र डिजिटल प्याटफार्मका नयाँ संरचनाबाट काम गर्ने छन ।

यसै गरी बजेटले सुचना प्रविधि तर्फ दूरसञ्चार प्राधिकरणको पुनर्संरचना सूचना प्रविधिको पहुँच विस्तार गरी डिजिटल डिभाइड न्यूनीकरण र ब्रोडव्याण्ड सेवाको विस्तार गरिनेछ। देशभर फोरजी सेवाको पहुँच विस्तार तथा गुणस्तर सुधार गरिने विषयलाई प्राथामिकता राखेको छ ।

काठमाडौँ उपत्यका र ठूला शहरी क्षेत्रमा फाइभजी सेवा शुरूवात गरिनेछ। मोवाइल सेटहरूको अवैध आयात र प्रयोगमा रोक लगाउन आइएमइआई दर्ता गर्नुपर्ने व्यवस्था गरेको छ ।

सार्वजनिक निकायका सूचना प्रविधि पूर्वाधारमा एकरूपता ल्याउन हार्डवेयर र सफ्टवेयरको मापदण्ड तयार गरिनेछ । सार्वजनिक निकायहरूले स्वदेशमा विकास भएका सूचना प्रविधि सफ्टवेयर उपयोगलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरिनेछ ।

विज्ञापनलाई मापदण्डमा आधारित, मर्यादित र व्यवस्थित बनाइने र सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मको प्रयोगलाई मर्यादित र व्यवस्थित बनाउनुका साथै साइवर सुरक्षा जोखिम न्यूनीकरण गर्न जोड दिएको छ ।

यस्तै नेपालको कला, संस्कृति, सभ्यता र भौगोलिक विविधता झल्किने गरी स्वदेशी तथा विदेशी चलचित्र छायाङ्कन गर्न इनडोर तथा आउटडोर स्टुडियो निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ।

हेटौडा स्थित डिजास्टर रिकभरी सेन्टरको क्षमता विस्तार तथा कोहलपुरमा निर्माणाधीन डाटा सेन्टर सञ्चालनमा ल्याइनेछ ।
तथ्याङ्कको भरपर्दो सुरक्षाका लागि क्लाउड पूर्वाधारको स्तरोन्नति गरिनेछ। जियो स्टेशनरी सेटलाईट अर्विटमा नेपालको भू-उपग्रह स्थापनाको आधार तयार गरिनेछ ।

सूचना प्रविधि उद्योगका लागि इकोसिस्टम विकास गरिनेछ । सूचना प्रविधि सेवाको निर्यात प्रवर्द्धन गर्न नीतिगत व्यवस्था गरिनेछ ।
कृत्रिम बौद्धिकता र मेशिन लर्निङ्गको अनुसन्धान, प्रयोग र विस्तारका लागि निजी क्षेत्रसँगको सहकार्यमा एआई सेन्टर स्थापना गरिने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा विकसित नवीनतम् प्रविधिहरूकोखोज, अनुसन्धान, विकास र नवप्रवर्तनमा जोड दिइनेछ । डिजिटल नेपाल फ्रेमवर्कको दोस्रो संस्करण तर्जुमा गरिनेका साथै डिजिटल साक्षरताका विशेष कार्यक्रम सञ्चालन गरिने र डिजिटल पूर्वाधार निर्माण र इकोसिस्टम विकास गर्न रु. ७४ करोड विनियोजन गरिएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.